राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनलाई आफ्नो उद्गमस्थलका रूपमा व्याख्या गर्दै आएको छ। पार्टीका केन्द्र तथा जिल्ला तहका नेताहरूले चितवनलाई रास्वपाको राजनीतिक आधारभूमि र उद्गमस्थलका रूपमा प्रस्तुत गर्दै आएका छन्।
रास्वपा सभापति रवि लामिछाने लगातार तीन पटक चितवनबाट भारी मतका साथ निर्वाचित भएका छन्। लामिछानेको गृहजिल्ला चितवन नभए पनि निर्वाचन परिणाम र जनसमर्थनका आधारमा चितवन रास्वपाको प्रमुख आधार क्षेत्र बनेको नेताहरूको दाबी छ।
प्रवासमा रहेर पनि पार्टीका गतिविधिमा सक्रिय सहभागी हुँदै आएका चितवन निवासी कृष्ण रेग्मीले चितवनलाई रास्वपाको उद्गमस्थल मान्नुपर्ने बताए। उनका अनुसार हिरासतमा रहेका बेला चितवनवासीले लामिछानेप्रति देखाएको समर्थन र सहानुभूतिले उनलाई थप प्रेरित गरेको थियो। हिरासतमुक्त भएपछि नारायणी नदी किनारमा भएको जनसभामा देखिएको जनसहभागिताले पनि लामिछाने र चितवनबीचको सम्बन्ध अझ बलियो बनेको उनको भनाइ छ।
लामिछानेमाथि लागेको अभियोगपछि भएको राजनीतिक घटनाक्रम र त्यसपछिका निर्वाचन परिणामले पनि चितवनवासीको समर्थन स्पष्ट भएको रास्वपा नेताहरूको तर्क छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका थिए। त्यसपछि २०८० सालको उपनिर्वाचनमा लामिछानेले ५४ हजार २७६ मत ल्याएर विजय हासिल गर्दा कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरेका थिए।
त्यसैगरी २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी पुनः निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेल १४ हजार ५६४ मतमा सीमित भइन्।
रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चितवनवासीको अपार समर्थन र मायापछि लामिछाने राजनीतिमा सक्रिय भएको बताए। उनका अनुसार लामिछानेले चितवनबाट प्राप्त गरेको मत र जनसमर्थनले नै चितवनलाई पार्टीको उद्गमस्थलका रूपमा स्थापित गरेको छ।
पार्टीका निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुषालले पनि लामिछानेले राजनीतिक यात्राका लागि चितवनलाई रोजेको र पार्टी यहाँ बलियो रूपमा स्थापित भएको बताए। पहिलो निर्वाचनमै दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले पछिल्लो निर्वाचनमा चितवनका तीनवटै क्षेत्र जित्न सफल हुनु पार्टीको मजबुत आधारको संकेत भएको उनको भनाइ छ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले तदर्थ समितिबाट सुरु भएको पार्टीले छोटो समयमै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाउनु असाधारण उपलब्धि भएको बताए। उनले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमै आयोजना हुनु पनि यसको राजनीतिक पृष्ठभूमिसँग जोडिएको उल्लेख गरे।
२०७९ असार ७ गते स्थापना भएको रास्वपाले स्थापना दिवसकै अवसर पारेर असार ७ गतेदेखि चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ। साथै निर्वाचन पर्यवेक्षक, शुभेच्छुक, नेता तथा कार्यकर्ताको पनि उल्लेख्य उपस्थिति रहने बताइएको छ।
प्रकाशित: ५ असार २०८३ १७:५९ शुक्रबार





