१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि बढ्न सबैलाई अपिल गरेकी छन् ।  

आज एक विज्ञप्ति जारी गरी नीतिनिर्माण र कार्यान्वयनमा समावेशी दृष्टिकोण अपनाउनसमेत आग्रह गरिन । ‘युवापुस्ता, महिला, सीमान्तकृत समुदाय तथा विपन्न वर्गका आवाजलाई नसमेटी लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन । देशभित्रको आन्तरिक सहमति तथा संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप अगाडि बढ्न आग्रह पनि गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष घिमिरेले कठिन घडीमा सबै पक्षलाई धैर्य, संयम र आपसी विश्वासका साथ अघि बढ्न आग्रह गरेकी छन् । राज्यका निकायहरूले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेकामा उनको जोड छ ।  

उपाध्यक्ष घिमिरेले आन्दोलनका क्रममा सार्वजनिक र निजी संरचना जोगाउन सहयोग गर्ने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै ‘जेनजी’ आन्दोलनबाट उत्पन्न परिस्थितिको सामना गर्न शोकलाई शक्तिमा बदल्दै नयाँ नेपाल निर्माणमा जुट्न आह्वान गरिन ।  

विज्ञप्तिमा भनिएको छ, ‘देश सङ्कटपूर्ण अवस्थामा रहेको यो बेला उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन । आन्दोलनमार्फत उठाइएका माग, आवाज र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाभित्र समेट्दै दिगो समाधानको बाटो खोज्नु हाम्रो सामूहिक जिम्मेवारी हो । शान्ति, सहकार्य र आपसी विश्वासमार्फत मात्र हामीले समाज र नागरिकका आकांक्षा सम्बोधन गर्न सक्छौँ ।’

प्रकाशित: ३० भाद्र २०८२ २१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App