संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाका दुईवटा महत्वपूर्ण समितिका बैठकहरू बस्ने भएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज एकैदिन बस्न लागेको हो।
आज बिहान ९:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३४१ औं बैठकमा युनेस्को र पुरातत्त्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरूका सम्बन्धमा छलफल हुनेछ।
संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्ने उक्त बैठकका लागि युनेस्को काठमाडौंका संस्कृति क्षेत्र प्रमुख नभा बस्नेत थापा र पुरातत्त्व विभागका महानिर्देशकलाई बोलाइएको छ।
यसैगरी, बिहान ११:०० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा छलफल हुनेछ।
उक्त बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, मन्त्रालयका सचिव तथा उपभोक्ता हित संरक्षण मञ्च र राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्षहरूलाई बोलाइएको छ।
प्रकाशित: २० श्रावण २०८३ ०९:२१ बुधबार





