८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

गरिबको झुपडीमा मात्र डोजर प्रहार नहोस्: मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा अतिक्रमित गुठीको जग्गा खाली गराउँदा गरिब र निमुखामाथि मात्र डोजर नचलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले जग्गा खाली गराउने अभियानमा पहुँचवाला र गरिब सबैमाथि समान व्यवहार हुनुपर्ने माग गरेका हुन्।

सांसद झाले जनकपुरको ९५० बिघा अतिक्रमित जमिन संरक्षण गर्ने र फर्काउने सवालमा सरकार गम्भीर र सजग हुनुपर्नेमा जोड दिए।

उनले सदनमा भने, ‘यो डोजर प्रहार गरिबहरूमाथि मात्र नहोस्। सबैमाथि समान व्यवहार गरियोस् र ९५० बिघा अतिक्रमण गरिएको जमिन फर्काउने अभियानमा सरकार सफल होस् भन्ने सन्तुलित अनुरोध छ।’

अतिक्रमण हटाउनका लागि सरकारले २०६२ सालमा गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनलाई आधार मानेको उनले उल्लेख गरे। सोही प्रतिवेदनले जनकपुरमा ठूलो परिमाणमा गुठीको जग्गा अतिक्रमण भएको औंल्याएको थियो।

सरकारले गत शनिबारदेखि जनकपुरका पोखरीको डिल खाली गराउन सुरु गरेको पृष्ठभूमिमा सांसद झाको यो भनाइ आएको हो। गुठी संस्थान जनकपुरधामले शनिबार गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराएको थियो।

प्रकाशित: ८ भाद्र २०८३ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App