नेपाली कांग्रेसको संस्थापन इतर समूहले ललितपुरको चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट र बोर्ड टाँसेको छ।
पाँच महिना लामो उपचारपछि स्वदेश फर्किएका देउवाका लागि कार्यालयमा सभापति उल्लेख गरेर छुट्टै कार्यकक्षसमेत स्थापना गरिएको छ।
गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आक्रमणमा परी सिंगापुरमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका देउवालाई इतर समूहका नेता-कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै सोझै चुनदेवी कार्यालय पुर्याएका थिए। कार्यकक्षको बाहिर र चेम्बरभित्र देउवाको नामअघि सभापति लेखिएको बोर्ड राखिएको छ।
इतर समूहले शुक्रबारदेखि काठमाडौंमा आयोजना गर्न लागेको तीन दिने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा सो बोर्ड राखिएको हो। प्रचारप्रसार समितिका संयोजक मिन विश्वकर्माका अनुसार उक्त राष्ट्रिय भेलामा देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। सोही कार्यालयमा भेला आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको बोर्डसमेत टाँसिएको छ।
हाल निर्वाचन आयोग तथा अदालतबाट कानुनी मान्यता प्राप्त नेपाली कांग्रेसका सभापति गगनकुमार थापा हुन्। गत माघ १ गते सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए।
तर, तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासहितले सो निर्णयविरुद्ध दिएको पुनरावेदनमा हालै सर्वोच्च अदालतले पुनः सुनुवाइको आदेश दिएको छ। इतर समूहले थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवालाई नै सभापतिका रूपमा प्रस्तुत गर्दै आएको छ।
प्रकाशित: २८ श्रावण २०८३ १७:३५ बिहीबार





