३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

अहिलेको युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने मेरो प्रतिबद्धता : डिला संग्रौला

नेपाली कांग्रेसको महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन्। उनले महामन्त्री महिलातर्फ ३ हजार ११८ मत प्राप्त गरेकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आभार व्यक्त गर्दै उनले आफूलाई गरिमामय र जिम्मेवार पदमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधि, पार्टीका कार्यकर्ता तथा शुभचिन्तकप्रति धन्यवाद दिएकी हुन्।

उनले आफूलाई प्राप्त विश्वास, प्रेम र भरोसालाई पदमा निर्वाचित हुनुमा मात्र सीमित नराखी आन्तरिक लोकतन्त्रको सुदृढीकरण र जनअपेक्षा पूरा गर्ने ठूलो जिम्मेवारीका रूपमा लिएको बताएकी छन्।

'मलाई विश्वास छ, मेरो व्यक्तिगत विजय नभई सम्पूर्ण परिवर्तनका पक्षधर, ऊर्जाशील युवा र निष्ठावान् कांग्रेसीहरूको साझा विजय हो,' उनले भनेकी छन्।

संग्रौलाले नेपाली कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा अघि बढाउने अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएकी छन्। अहिलेको युवा पुस्ताले चाहेजस्तो कांग्रेस निर्माण गर्नु आफ्नो प्राथमिकता हुने उनको भनाइ छ।

कांग्रेसको पहिलो महिला महामन्त्री बन्न पाउँदा खुसी लागेको बताउँदै उनले यसलाई महिलाहरूको योगदानको गौरवका रूपमा व्याख्या गरिन्।

'महिला संघमा लामो समय लागेँ। दिदीबहिनीहरूले सबैले मत दिनुभएको छ। यो उहाँहरूकै गौरव हो,' उनले भनिन्।

महामन्त्रीका रूपमा पार्टीभित्रको जिम्मेवारीबारे उनले संगठनका विभिन्न तह र निकायमा काम गरेको अनुभवका आधारमा जिम्मेवारी निर्वाह गर्ने बताइन्। महिला संघको अध्यक्ष भएर काम गरिसकेको र सहमहामन्त्रीका रूपमा आठ महिना भूमिका निर्वाह गरेको अनुभव पनि आफूसँग रहेको उनले उल्लेख गरिन्।

प्रकाशित: २६ आश्विन २०८३ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App