नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूले जीवनमा कहिल्यै एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्।
उनले उक्त प्रकरणमा आफूविरुद्ध पूर्वाग्रहपूर्ण ढंगले मुद्दा लगाइएको बताए।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले जग्गासम्बन्धी निर्णय सबै प्रक्रिया पूरा गरेरै भएको जिकिर गरे। ‘मेरो केस त कुनै भ्रष्टाचारको केसै होइन,’ उनले भने, ‘मैले एक पैसा पनि तलमाथि जिन्दगीमा गरेको छैन कसैको। यो केसमा त झन् कसैले कल्पना गर्ने कुरा पनि होइन।’
उनले उक्त निर्णय तल्लो तहदेखि मन्त्रिपरिषद्सम्म सर्वसम्मत रूपमा भएको र त्यसमा कुनै विधि वा प्रक्रियाको उल्लंघन नभएको बताए। ‘सबै विधि प्रक्रिया पुगेको छ। जिल्लाबाट, मन्त्रालय, उपसचिव, सहसचिव, सचिव, राज्यमन्त्री, पूर्ण मन्त्री हुँदै क्याबिनेटको सर्वसम्मत निर्णयबाट भएको छ। कसैको फरक मत छैन,’ उनले भने।
अध्यक्ष नेपालले हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न कानुनले नै अनुमति दिएको र तत्कालीन सरकारले सूचना निकालेरै जग्गा बिक्रीका लागि समय दिएको प्रसंगसमेत उल्लेख गरे।
‘ऐनले पनि दिएको छ, कानुनले दिएको छ, संविधानले दिएको छ। सरकारी जग्गा एक टुक्रा पनि दिएको छैन,’ उनले स्पष्ट पारे, ‘त्यसैले कुनै विधि प्रक्रिया उल्लंघन भएको छैन।’
उनले आफूमाथि पूर्वाग्रह राखेर मुद्दा चलाइएको संकेत गर्दै सबै प्रक्रिया पूरा भएको विषयमा भ्रष्टाचारको प्रश्न नै नउठ्ने बताए।
प्रकाशित: १६ श्रावण २०८२ १६:३१ शुक्रबार