नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ। उम्मेद्वारीहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।
यसै क्रममा नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट नेतृ बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्।
आवश्यकताका हिसाबले आफूले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेको उनले बताइन । पाण्डेले भनिन्, ‘पाँच जना उपाध्यक्ष हुँदा पनि मनोनयन गर्ने साथीहरूको छाँट देखिनँ यस कारण मेरो उम्मेदवारी उपाध्यक्षमा हो।’
सोही क्रममा उनले पदाधिकारीको संख्या नबढाउन विधिमा चल्नुपर्ने बताएकी छन्। पदाधिकारीको संख्या बढाउन हुँदैन कम्तिमा विधिमा चल्नुपर्छ। अस्ति भर्खरै विधान अधिवेशन गरेको फेरि परिवर्तन गर्ने कुराले राम्रो सन्देश पनि दिँदैन। विधान महाधिवेशनको अर्थ पनि रहँदैन।'
नेकपा एमालेमा पुस्तान्तरण हुनुपर्ने उनको भनाइ छ। 'पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंले यसको अगुवाइ गरेको हो। अहिले अब भएन पछि समयले देखाउने नै छ,' उनले भनिन्।
आफूले उपाध्यक्ष जितेमा विधानले दिएबमोजिमको भूमिका निर्वाह गर्दै पार्टीलाई एकढिक्का बनाउने काममा अग्रसर रहने उनले बताइन्।
प्रकाशित: २९ मंसिर २०८२ १५:५६ सोमबार





