प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले अविरल वर्षापछि मुस्ताङमा पूर्वाधारमा ठूलो क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गौचनले लोमन्थाङ गाउँपालिका–१ स्थित लोमन्थाङ गाउँको सिँचाइ प्रणाली तथा कृषिमा आधारित पूर्वाधारमा पूर्ण क्षति पुगेको बताए। त्यस्तै घरपझोङ गाउँपालिकाको मार्फा बस्ती जोखिममा परेको तथा थासाङ गाउँपालिका–१ को टुकुचे गाउँ पनि जोखिममा रहेको उनले जानकारी दिए।
उनका अनुसार मुक्ति क्षेत्रअन्तर्गत ऐतिहासिक बोन समुदायको बसोबास रहेको लुप्रा गाउँमा स्थानीय कृषक घुर्मी गुरुङसहित पाँच जनाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
गौचनले म्याग्दीको दाना सबस्टेसनमा पुगेको क्षति र ३३ केभी प्रसारण लाइन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा मुस्ताङमा करिब ७२ घण्टादेखि विद्युत् आपूर्ति अवरुद्ध रहेको बताए। विद्युत् अवरुद्धसँगै मुस्ताङ राज्यको सम्पर्कबाट समेत प्रभावित भएको उनको भनाइ छ।
‘पछिल्लो ७२ घण्टादेखि मुस्ताङ र मुस्ताङवासी सञ्चार र इन्टरनेटको समस्याबाट प्रभावित छन्। यस्तो अवस्थामा क्षतिको वास्तविक विवरण संकलन गर्न र राज्य संयन्त्रले नागरिकको ग्राउन्ड रियालिटी बुझ्न समेत कठिन भइरहेको छ,’ उनले भने। गौचनले विपद्का कारण मुस्ताङमा उत्पन्न अवस्थाले संकटका बेला राज्यको पहुँच र उद्धार क्षमतासम्बन्धी चुनौतीसमेत देखाएको बताए।
उनले उत्तर–दक्षिण लोकमार्गअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा क्षति पुगेको रिपोर्ट आएको जानकारी दिए। उनका अनुसार उक्त सडक मुस्ताङको स्थानीय आवागमनका लागि मात्रै नभई क्षेत्रीय तथा राष्ट्रिय आपूर्ति शृंखला र उत्तरी छिमेकी चीनसँगको सीमा सम्पर्कका दृष्टिले समेत रणनीतिक पूर्वाधार हो।
‘यहाँ सडक अवरुद्ध हुँदा असर यातायातमा मात्र होइन, विद्युत्, सञ्चार, उद्धार, व्यापार र राज्यको पहुँचसम्म पुगेको छ,’ गौचनले भने।
राष्ट्रिय सुरक्षालाई सीमा, सेना र सुरक्षा निकायमा मात्र सीमित गरेर बुझ्न नहुने भन्दै गौचनले दुर्गम तथा सीमावर्ती क्षेत्रमा सडक, विद्युत् र सञ्चार सेवा कायम राख्नु तथा संकटका बेला नागरिकको उद्धार गर्न सक्ने क्षमता पनि राष्ट्रिय सुरक्षाकै आधार भएको बताए।
प्रकाशित: १४ आश्विन २०८३ १४:२२ बुधबार





