२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सुकुम्बासीलाई खाना, बस्न र उपचारको व्यवस्था गर्न सांसदहरूको माग

राष्ट्रिय सभाका सदस्यहरुले गत वैशाखमा बागमतीलगायत नदी किनारबाट हटाइएका सुकुम्बासीको खान, बस्न र औषधी उपचार गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीले औषधि र पानी पनि नपाएको दाबी गरिन्।

सांसद मदनकुमारी शाह (गरिमा) ले सुकुम्बासीको दुई महिना बितिसक्दा पनि उचित व्यवस्था गर्न नसकिएको बताइन्।

राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले घरेलु हिंसा पीडितलाई न्याय दिने व्यवस्था मिलाउन माग गरिन्। राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले स्थानीयस्तरबाट आएको नीति तथा कार्यक्रम बजेटमा नपरी पहुँचका आधारमा परेको गुनासो गरिन्।

राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयमा गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर नौ घण्टासम्म दबाबमा राखेर काम गर्न लगाएकामा आपत्ति जनाए।

राष्ट्रियसभा सदस्य  नारायणदत्त मिश्रले मुक्त कमैयाका लागि ठूला बस्ती व्यवस्था गरेपनि रोजगारीको व्यवस्था नहुँदा समस्या भएको बताए। राष्ट्रियसभा सदस्य भुवन सुनारले अन्तरजातीय विवाह गर्ने छोरीको बर्दियामा ज्यूँदै क्रिया गर्नेलगायत दलित समुदायमाथि भइरहेका ज्यादतीका विषयमा कानूनी कारबाही नभएको बताए।

राष्ट्रियसभा सदस्य युवराज शर्माले बन्द भएको चिया उद्योगका विषयमा के गरिरहेको छ भनी जिज्ञासा राखे। सांसद राजेन्द्रलक्ष्मी गैह्रेले निर्माण व्यवसायीका सन्दर्भमा मन्त्रीले दिएका अभिव्यक्तिबारे सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: ५ असार २०८३ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App