८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगर पर्वतारोही निर्मल पूर्जा (निम्सदाइ) को अन्त्येष्टिमा सहभागी हुन सोमबार बेलायत प्रस्थान गरेकी छन्।  

पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पूर्वगोर्खा सैनिक पूर्जाको अन्त्येष्टि २६ अगस्टमा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा हुने तय भएको छ। बेलायतको नागरिकता लिएका पूर्जाको अन्त्येष्टि बेलायतमै हुन लागेको हो। पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि सोमबारै बेलायत जाने बताइएको छ।

सांसद रानामगरले यसअघि प्रतिनिधिसभामा पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी थिइन्। उनले ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको पर्वतारोहण क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान र गौरव स्थापित गर्न उनीहरूले पुर्‍याएको योगदानको स्मरण गरेकी छन्। 

रानामगरले दिवंगत पर्वतारोहीहरूको साहस, समर्पण र योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने बताउँदै शोकसन्तप्त परिवार, आफन्त तथा नेपाली पर्वतारोहण समुदायप्रति समवेदना व्यक्त गरेकी छन्। 

ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी पूर्जासहित अन्य  नेपाली पर्वतारोहीको निधन भएको थियो।  

प्रकाशित: ८ भाद्र २०८३ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App