नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभाबाट पारित भएपछि नागरिकताविहीन संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई भेटेर बधाई ज्ञापन गरेको छ।
आमाको नामबाट नागरिकता पाउने लगायतका प्रगतिशील प्रावधानसहित विधेयक पारित हुनुलाई समितिले ऐतिहासिक कार्यको संज्ञा दिएको हो।
समितिका अध्यक्ष ई. इन्द्रजीत साफी नेतृत्वको टोलीले शनिबार गृहमन्त्री लेखकलाई भेट गरी लाखौं नागरिकताविहीन व्यक्तिले नागरिकता पाउने बाटो खुलेकोमा धन्यवाद तथा बधाई व्यक्त गरेको हो।
प्रतिनिधि सभाबाट बहुमतले पारित भई राष्ट्रिय सभामा पेश भएको विधेयकले नागरिकता प्राप्तिको लडाइँमा महत्त्वपूर्ण सफलता मिलेको समितिको भनाइ थियो।
भेटका अवसरमा गृहमन्त्री लेखकले नागरिकता विधेयकलाई अझै परिमार्जन गर्न आवश्यक परे आफू त्यसका लागि तयार रहेको बताए। उनले संविधानले प्रत्याभूत गरेको तर कानुनको अभावमा नागरिकताबाट वञ्चित भएका नागरिकहरूलाई समेत समेट्ने गरी थप छलफल गर्न सकिने आश्वासन दिए।
‘नेपालको संविधानअनुसार नागरिकता पाउनुपर्ने तर कानुन नभएका कारण नपाएको अवस्था छ भने त्यसलाई पनि परिमार्जन गर्ने गरी छलफल गर्नुपर्छ,’ गृहमन्त्री लेखकले भने।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ हालै प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन छ।
प्रकाशित: २८ असार २०८२ २०:१७ शनिबार





