२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

दैनिक हजार बढीले रास्वपा सदस्यता लिइरहेका छन्: मनिष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व उच्च सुरक्षा अधिकारी, सामाजिक अभियन्ता र व्यवसायीहरूलाई पार्टीमा भित्र्याएको छ।

सशस्त्र प्रहरीका पूर्व डीआईजी दुर्गा भट्टराई, पूर्व एसएसपी विश्वेश्वर थापा, सेनाका अवकाशप्राप्त कर्णेल डा. प्रद्युम्न पौडेललगायतका व्यक्तित्व रास्वपामा प्रवेश गरेका हुन्।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता मनिष झाले उनीहरूको प्रवेशसँगै दैनिक एक हजारभन्दा बढीले पार्टी सदस्यता लिइरहेको दाबी गरे।

उनले भने, ‘सशस्त्र प्रहरीको डीआईजीको रूपमा काम गरिसक्नुभएका दुर्गा भट्टराई ज्यू हुनुहुन्छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न हुनुभएको छ। उहाँले आफ्नो अनुभव र नेटवर्क प्रयोग गरेर देशका लागि काम गर्न चाहेको भन्दै सदस्यता लिनुभएको छ।’

त्यस्तै, सशस्त्र प्रहरीकै अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वेश्वर थापाले पनि रास्वपाको सदस्यता लिएको उनले जानकारी दिए।

प्रवक्ता झाका अनुसार, नेपाली सेनाका अवकाशप्राप्त कर्णेल डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेका छन्। सेनाको जनसम्पर्क निर्देशनालयमा १८ वर्ष काम गरेको अनुभव बोकेका डा. पौडेलले चीनबाट ‘सङ्कटको समयमा सञ्चार’ विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्।

त्यसैगरी, अन्तर्राष्ट्रिय लायन्स क्लबकी पूर्व गभर्नर तथा महिला उद्यमी शोभा जोशी र नेपाली कांग्रेसका पुराना कार्यकर्ता ललितबहादुर श्रेष्ठ पनि रास्वपामा प्रवेश गरेका छन्। श्रेष्ठले २०३९ सालदेखि कांग्रेसमा सक्रिय राजनीति गरेको बताइएको छ।

सुश्री मिन्तिरा लामालाई भने पार्टीको केन्द्रीय जनसम्पर्क विभागको सदस्यमा मनोनयन गरिएको झाले जानकारी दिए।

उनले दैनिक करिब एक हजार जनाले रास्वपाको सदस्यता लिइरहेको भन्दै पार्टीप्रति आकर्षण बढ्दो रहेको दाबी गरे। ‘सबै सदस्य हाम्रो लागि विशेष हुनुहुन्छ, तर तपाईंहरुको जानकारी र समाचारका लागि हामीले केही विशेष व्यक्तित्वहरूलाई आज प्रस्तुत गरेका हौं,’ झाले भने।

प्रकाशित: २९ श्रावण २०८२ १९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App