२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

देउवा, दाहाल र खड्का निवासको खरानीमा पैसाको अवशेष

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र कांग्रेस नेता दीपक खड्काको जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष रहेको फरेन्सिक रिपोर्ट प्राप्त गरेको छ।

जेनजी आन्दोदलनका क्रममा जलाइएका ती घरको खरानी सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संकलन गरी जाँच गर्न नेपाल प्रहरीको प्रयोगशालामा पठाएको थियो। त्यसको रिपोर्ट केही दिनअघि प्राप्त भए पनि विभागले सार्वजनिक गरेको  छैन। विभाग र ब्युरोको टोलीले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक (तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल, कांग्रेस नेता एवं तत्कालीन मन्त्री खड्काको जलेको घरमा पुगेर खरानी संकलनसहित मुचुल्का उठाएको थियो। ‘देउवा, दाहाल र खड्काको घरमा देखिएको, भेटिएका नोट र खरानीको फरेन्सिक जाँच गरिएको थियो। त्यसको रिपोर्ट आएपछि प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाललाई समेत बिफ्रिङ गरिएको छ’, विभाग स्रोतले भन्यो।

यो रिपोर्टपछि विभागलाई सम्पत्ति शुद्धीकरणमा देउवा, उनीक पत्नी आरजु देउवा, दाहाल र खड्कामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा, दाहाल र खड्काको घरमा आगो लगाएपछि पैसाको थुप्रो जलेको भन्दै भिडियो सार्वजनिक गरिएका थिए। खड्काको घरबाट त प्रदर्शनकारीले पैसाका बिटा फालेको भिडियोसमेत सार्वजनिक गरेका थिए। त्यसपछि विभाग र ब्युरोले मुचुल्का उठाएर अनुसन्धानका लागि खरानीसहित जलेका अवशेष संकलन गरेका थिए।

‘सरकारले संदिग्ध मानेका घरहरुमा जलेका अवशेषहरु विभागले संकलन गरी विभिन्न जाँचका लागि पठाएको थियो, त्यसको रिपोर्ट प्राप्त भएको छ, त्यही रिपोर्टका आधारमा थप अनुसन्धान हुनेछ’, प्रधानमन्त्री कार्यालय उच्च स्रोतले भन्यो। यो विषयमा विभागका महानिर्देशक गजेन्द्र ठाकुरले आफूलाई जानकारी नभएको बताए। ‘म बिहानैदेखि मन्त्रालयतिरको बैठकमा थिएँ, प्रवक्ता वा सूचना अधिकारीलाई थाहा होला’, ठाकुरले भने।

उनी पन्छिएपछि थप जानकारीका लागि विभागका प्रवक्ता निर्मल ढकालसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन। विभागका सूचना अधिकारी जितेन्द्र अधिकारीको मोबाइल स्विच अफ थियो।

बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँ (हजार/पाँच सयका नोट) का जलेका टुक्राहरू भेटिएको विभागको दाबी छ। केही व्यक्तिहरुले देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरे पनि त्यसको पुष्टि भएको छैन। देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गरेर घरमा पैसा राख्ने सुरुङ नभएको दाबी गरेका थिए।

दाहाल निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको भिडियोहरु सार्वजनिक भएका थिए। विभागका एक अधिकृतका अनुसार देउवा, दाहाल र खड्काको घरमा पुगेर मुचुल्का गर्दा डढेका नोट भेटिएका थिए। ओलीको घरमा भने पुस्तकहरु मात्रै जलेको भनिएको थियो। विभागले ओलीको घरको अवशेषबारे केही बताएको छैन।

देउवा, आरजु र खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान जारी छ । विभागले हालसम्म संकलित प्रमाण हेर्ने कामलाई तीव्र पारेको छ। असोज ५ गते विभागको टोलीले देउवा र खड्कानिवास अवलोकन गरी क्षति र सम्पत्तिको मुचुल्का उठाएको थियो। उनीहरुको घरमा पैसा जलेकाले कारबाहीको माग उठेपछि विभागले अनुसन्धानका लागि टोली खटाएको हो। विभागले सामाजिक सञ्जालमा आएका फोटा, भिडियो लगायतलाई पनि फरेन्सिक परीक्षणका लागि पठाएको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले असोज ९ गते राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको बताएकी थिइन्।

प्रकाशित: १ मंसिर २०८२ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App