सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका पाँचथरका एक युवा रिहा भएका छन्। प्रहरीले उनलाई आइतबार परिवारको जिम्मा लगाएको हो।
प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका रोशन पोखरेललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।
साइबर अपराध अन्तर्गत जिल्ला अदालतबाट अनुमति लिई कानुनी प्रक्रिया बमोजिम अनुसन्धान अघि बढाइएकोमा हाललाई उनलाई परिवारको संरक्षणमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
गृह मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। यद्यपि, आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुन मन्त्रालयले सबै नागरिकमा आग्रह गरेको छ।
‘समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता कार्य प्रचलित कानुन विपरीतका हुन्,’ प्रवक्ता काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमका कार्यहरूमा सम्बन्धित निकायले नियमित प्रक्रिया अन्तर्गत निगरानी गरिरहेको व्यहोरा अनुरोध छ।’
मन्त्रालयले प्रत्येक नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक सञ्जालको प्रयोग गर्दा कानुनी परिधि र सामाजिक मर्यादाको ख्याल गर्न सचेत गराएको छ।
पक्राउ परेका युवाको विषयमा प्रकाशित समाचारहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २९ चैत्र २०८२ १९:२५ आइतबार





