सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगतिमा गृह मन्त्रालय पहिलो भएको छ।
गृहमन्त्री रमेश लेखक नेतृत्वको मन्त्रालयले बितेको पाँच वर्ष यताकै उत्कृष्ट माइलस्टोन कार्यप्रगतिमा उत्कृष्ट देखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१\०८२ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये ८८ प्रतिशत माइलस्टोन सम्पन्न गर्दै गृह मन्त्रालय प्रथम भएको हो।
मन्त्रालयले शासकीय सुधारतर्फ १०६ माइलस्टोन मध्ये ९३ वटा सम्पन्न हुनुका साथै, १३ वटा चालु आर्थिक वर्षमा जारी रहेको गृह मन्त्रालयले जनाएको छ।
माइलस्टोनको प्रगति विवरण अनुसार गृह मन्त्रालयले सबैभन्दा बढी ८८ प्रतिशत र दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८५ प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
गत आर्थिक वर्षमा सम्पन्न माइलस्टोनको मन्त्रालयगत स्थिति हेर्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत प्रगति गरेको छ।
शासकीय सुधार क्षेत्रमा गृह मन्त्रालयले आर्थिक वर्ष २०७७\०७८ मा ८६.८ प्रतिशत, २०७८\०७९ मा ६४.५ प्रतिशत, २०७९\०८० मा ६९.१ प्रतिशत र अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा ६८ प्रतिशत माइलस्टोन प्रगती भएको थियो।
सरकारले माइलस्टोनको निकायगत प्रगतिमा शासकीय स्वरुप, पूर्वाधार क्षेत्र, आर्थिक र सामाजिक क्षेत्र गरी चार भागमा विभाजन गरेको थियो। नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनसहितको कार्ययोजना सरकारको तय गरेको छ।
गृहमन्त्री रमेश लेखकले पहिलो वर्ष मन्त्रालयको नीतिगत र कानूनी सुधार, व्यवस्था विरोधी गतिविधी निश्तेज, अपराध अनुसन्धान तथा फैसला कार्यान्वयन, प्रहरीमा सेवा प्रवाहका लागि डेष्क र महाशाखा गठन तथा लागूऔषध विरुद्ध महाअभियान सञ्चालन, विपद् व्यवस्थापन, भूकम्पपछिको पुर्ननिर्माण, राजश्व चुहावट र सीमापार अपारध नियन्त्रण, सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन, अध्यागमनको सुधारको पहल र निःशुल्क हेलि उद्दार लगागतका काम गरेका थिए।
प्रकाशित: १ भाद्र २०८२ १७:२९ आइतबार





