१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

जनगुनासो सुनुवाइ र समाधानमा ऊर्जा मन्त्रालयको प्राथमिकता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको प्राथमिक कार्यसूचीमा राखेका छन्।

उनको निर्देशनपछि मातहतका निकायलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउँदै गुनासो व्यवस्थापन प्रणालीलाई तीव्र, प्रभावकारी र परिणाममुखी बनाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विद्युत् सेवासम्बन्धी हटलाइन नम्बर ११५१ लाई २४सै घण्टा सञ्चालनमा राख्दै सेवाग्राहीका समस्या तत्काल सम्बोधन गर्ने संयन्त्र सुदृढ गरिएको छ।

मन्त्रालयका अनुसार जेठ महिनाको पहिलो सातामात्र उक्त हटलाइनमार्फत प्राप्त एक हजार एक ८३ वटा गुनासोको शतप्रतिशत फछ्र्योट गरिएको छ।

प्राप्त गुनासामध्ये भूमिगत केबलसम्बन्धी ७५, नो लाइटका ११६, खम्बा नपाएको १९, ट्रान्सफर्मरसम्बन्धी ६, मिटर नपाएको पाँच तथा इभी चार्जिङसम्बन्धी तीन वटा समस्या प्रमुख रहेका छन्।

मन्त्रालयले संसद्को शून्य समयमा उठाइने प्रश्न, संसद्मा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित माग, प्रश्न र गुनासोलाई तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाएको जनाएको छ।

मन्त्रालयका अनुसार चैत १५ देखि ३० गतेसम्म फोनमार्फत चार हजार २४८, ह्वाट्स एपमार्फत १४, इमेलमार्फत दुई र हेलो सरकारमार्फत पाँच गरी कुल चार हजार २६९ गुनासा प्राप्त भएका थिए।

त्यस्तै, वैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्सएपबाट ९२ र इमेलमार्फत १० वटा गुनासो दर्ता भएका थिए। मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता कुल ११ हजार ५७५ गुनासा प्राप्त भएको मन्त्रालयले जनाएको छ।

लिखित निवेदन तथा सार्वजनिक सञ्चारमाध्यममा आएका विषयलाई सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाइएको छ। 

प्रकाशित: ८ जेष्ठ २०८३ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App