३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

आफैँ बिदाइ हुन थाले मन्त्री!

सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरू आफूले सम्हालेको मन्त्रालयबाट धमाधम बिदाइ हुन थालेका छन्।

कर्मचारीहरूलाई धन्यवाद दिँदै उनीहरू मन्त्रालयबाट अनौपचारिक रूपमा बिदाइ हुन थालेका हुन्। मन्त्रालयबाट बिदाइ नभएका मन्त्रीहरूले पनि मन्त्रालयमा कर्मचारीहरूको सरुवा, खटनपटन तथा अन्य महत्त्वपूर्ण विषयमा निर्णय गर्न छाडेका छन्। फागुन २१ गते निर्वाचन भएसँगै वर्तमान सरकार कामचलाउ बनेको छ।

अधिकांश मन्त्रालयहरूमा सोमबार मन्त्रीको कार्यकक्ष सुनसानझैं देखिए। कार्यकक्षमा कर्मचारीहरूसमेत थिएनन्। भौतिक पूर्वाधार मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘अबको एक साताभित्रै शक्तिशाली नयाँ सरकार बन्दै छ। त्यसैले अब मन्त्रालयमा कर्मचारीहरूको सरुवा, खटनपटन तथा अन्य निर्णय केही हुँदैन। मन्त्रीज्यूले हामीलाई धन्यवाद दिइसक्नुभएको छ।’

वर्तमान सरकारमा प्रधानमन्त्री कार्कीसहित ११ जना मन्त्री कार्यरत छन्। प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारीले भने, ‘अर्को सरकार एक साताभित्रै आउने भएकाले कुनै महत्त्वपूर्ण निर्णय नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका मन्त्रालय तथा अन्य निकायहरूमा अनौपचारिक रूपमा भनि पनि सकेको छ।’

सहरी विकासमन्त्री कुमार इङनाम भने यही चैत ५ गते मन्त्रालयबाट बिदाइ हुँदै छन्। उनले चैत ५ गते साँझ कर्मचारीहरूलाई धन्यवाद दिई मन्त्रालयबाट बिदाइ हुने कार्यक्रम रहेको उनका स्वकीय सचिवालयमा कार्यरत एक कर्मचारीले जानकारी गराए। उनका अनुसार इङनामले सम्हालेको अर्को मन्त्रालय भूमि व्यवस्थाबाट भने आइतबार कर्मचारीहरूका लागि धन्यवाद कार्यक्रम राखेका थिए।

आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो। सम्भवतः त्यो नै कार्की नेृतत्व सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक हुन सक्ने प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताए। ‘मन्त्रिपरिषद्को बैठक बसाउने कि नबसाउने भनेर प्रधानमन्त्रीको इच्छामा भर पर्छ। उहाँले चाहनुभयो भने अर्को बैठक बस्न सक्छ। नभए अब बैठक बस्ने सम्भावना कम छ,’ ती कर्मचारीले भने।

आइतबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री कार्कीले केही दिनमै नयाँ सरकार बन्न लागेको बताउँदै बिदाइका लागि तयार हुन मन्त्रीहरूलाई आग्रह गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

यता निर्वाचन आयोगले आगामी चैत ५ गते गते फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले तयारी पुग्यो भने यही ५ गते आयोगले राष्ट्रपतिलाई निर्वाचनको समग्र अन्तिम परिणाम बुझाउने तयारी भएको बताए। ‘हाम्रो प्रयास ५ गते नै राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाउने रहेको छ। अहिले हामी त्यससका लागि लेखनको काम गरिरहेका छौं,’ जिसीले भने, ‘तयारी नपुगेर ५ गते अन्तिम परिणाम बुझाउन सकेनौं भने ७ गतेसम्म बुझाउँछौं। अब ढिलो गर्नुपर्ने कारण केही छैन।’

निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्। सम्भवतः एक साताभित्रै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनेछन्।

प्रकाशित: ३ चैत्र २०८२ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App