प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूको न्यून उपस्थितिप्रति आपत्ति जनाउँदै नेकपा एमालेका सांसद राजेन्द्र राईले आफ्नो धारणा राख्न अस्वीकार गरेपछि संसद बैठक १५ मिनेटका लागि रोकिएको छ।
बैठकमा विभिन्न ९ मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल तय भए पनि त्यस समयमा केवल २ जना मन्त्री मात्र उपस्थित रहेको भन्दै राईले असन्तुष्टि व्यक्त गरेका हुन्।
रोस्ट्रममा पुगेपछि उनले मन्त्रीहरूको अनुपस्थितिमा आफूले बोल्नु उपयुक्त नहुने बताउँदै सबै सम्बन्धित मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गरे।
उनले सभामुख डोलप्रसाद अर्यालसमक्ष “मन्त्रीहरू उपस्थित नभएसम्म म आफ्नो भनाइ राख्दिनँ” भन्ने अडान दोहोर्याएका थिए।
सभामुख अर्यालले केही मन्त्रीहरू बैठक कक्षमै रहेको जानकारी गराउँदै प्रक्रिया अगाडि बढाउन आग्रह गरे पनि राई त्यसमा सहमत भएनन्। त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।
प्रकाशित: १ असार २०८३ १७:४२ सोमबार





