१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

सहकारीको समस्या समाधान गर्न मन्त्री रावलले मागिन् चार्टर्ड एकाउन्टेन्टसँग सहयोग

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियाका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग सहयोग मागेकी छन्।

बुधबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री रावलले सहकारीमा देखिएको वित्तीय अनुशासनहीनता अन्त्य गर्न विज्ञहरूको साथ आवश्यक रहेको बताइन्।

मन्त्रालयले निकट भविष्यमै बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरिरहेकाले त्यसको प्रभावकारी ‘मोडालिटी’ तयार पार्न मन्त्री रावलले चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) का पदाधिकारीहरूसँग सुझाव मागेकी हुन्।

सहकारीलाई व्यवस्थित र पारदर्शी बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

छलफलमा आइक्यानका अध्यक्ष निलबहादुर सारू मगरले सहकारी क्षेत्रका चुनौती समाधान गर्न र मन्त्रालयको सुधार योजनालाई सफल बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए।

उनले वित्तीय पारदर्शिता र नियमनका क्षेत्रमा मन्त्रालयलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने आश्वासन समेत दिए।

बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य तथा आइक्यानका कार्यकारी निर्देशक विमल डंगोल र अन्य सदस्यहरूको सहभागिता थियो।

प्रकाशित: ९ वैशाख २०८३ १७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App