१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १८:३ अपराह्न
राजनीति

एक वर्ष सरकारको अनुभव लिएँ, थप एक वर्ष पाए नेपाललाई प्रविधिमैत्री बनाउँछु: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो एक वर्षे कार्यकालमा सरकार सञ्चालनको अनुभव हासिल गरेको बताउँदै अबको एक वर्षमा नेपाललाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार कान्तिपुर सिटी कलेज (केसीसी) द्वारा आयोजित ‘केसीसी एक्जिबिट २०२५’ को उद्घाटन गर्दै मन्त्री गुरुङले सरकार प्रविधिको विकास र विस्तारमा केन्द्रित रहेको सुनाए। ‘सरकारमा आएको एक वर्ष अनुभव लिनमै बित्यो,’ उनले भने, ‘अब थप एक वर्ष काम गर्न पाएँ भने नेपाललाई प्रविधिमैत्री बनाउन सक्छौं।’

मन्त्री गुरुङले वर्तमान दशकलाई फाइभजी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगको रूपमा व्याख्या गर्दै सरकारले यसै वर्षभित्र फाइभजी प्रविधि जडान गर्ने तयारी गरिरहेको जानकारी दिए।

उनले सरकारको डाटा सेन्टरको क्षमता सानो रहेको स्वीकार्दै त्यसलाई विस्तार गर्नुपर्ने र देशमा एउटा पनि आईटी पार्क नभएको अवस्था अन्त्य गर्न सरकारले काम गरिरहेको बताए।

कान्तिपुर सिटी कलेज, पुतलीसडकमा आयोजित उक्त कार्यक्रममा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकालले देशको मुहार फेर्ने जिम्मा इन्जिनियरहरूको काँधमा रहेको बताए।

उनले आविष्कार र अनुसन्धानमा लाग्ने युवाहरूलाई नाष्टले आर्थिक तथा भौतिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले यस्ता प्रदर्शनीले युवाहरूलाई प्रेरणा दिने र उद्योग, शैक्षिक संस्था र सरकारबीचको समन्वयले देशलाई समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे।

‘इनोभेसन, एक्जिबिट, इन्स्पायर’ भन्ने मूल नाराका साथ सुरु भएको दुईदिने प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका ४० भन्दा बढी परियोजनाहरू प्रदर्शनमा राखिएको छ।

जसमा एआई, इन्टरनेट अफ थिङ्स, सफ्टवेयर एप्लिकेसन, भूकम्प प्रतिरोधी संरचनाका मोडेल लगायतका नवीनतम आविष्कारहरू समावेश छन्।

कलेजका प्राचार्य राजु कट्टेलका अनुसार प्रदर्शनीले विद्यार्थीको सिर्जनात्मक र व्यावहारिक ज्ञानलाई उद्योगसँग जोड्ने लक्ष्य राखेको छ।

शुक्रबार र शनिबार चल्ने प्रदर्शनीमा करिब १० हजार अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित: १६ श्रावण २०८२ २१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App