१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विमानस्थलमा भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन् । उनी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा कार्तिक १०देखि १३ सम्म हुनेछ ।  

आईएसएमा आवद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालकोतर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम छ ।  

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो ।  

मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा  विश्व अन्तरआवद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मुख्य/विशेष सम्बोधन गर्ने कार्यतालिका छ ।  

सन् २०१५को नोभेम्बरमा पक्ष राष्ट्रले आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जाको अभिबृद्धि गर्ने साझा चुनौतीलाई संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्य राखी आइएसए सम्बन्धी पेरिस घोषणा जारी भएको थियो ।  

सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गरी आवश्यक पर्ने एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्न र भविश्यमा प्रयोग हुने प्रविधि अनुकूल मार्ग निर्देश गर्नेलगायतका काम गर्न आइएसए स्थापना भएको थियो ।  

आइएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आवद्ध भएको थियो । महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भारत प्रस्थान गर्दा विमानस्थलमा घिसिङले भीआईपी सुविधा नलिइ गएपछि उनको चर्चा भएको छ । साधारण नागरिक झै मन्त्रीको यात्रा भन्दै घिसिङको प्रशंसा बढेको छ।  

 

प्रकाशित: १० कार्तिक २०८२ १४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App