३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पुस १६ भित्र संसद भवन निर्माण सक्न मन्त्री घिसिङको निर्देशन

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन्।

शनिबार निर्माणाधीन भवनको स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले पाँचौँ पटक थपिएको म्याद अर्थात् आगामी पुस १६ गतेभित्र कुनै पनि हालतमा काम सक्नुपर्ने बताएका हुन्।

निरीक्षणका क्रममा निर्माण कम्पनीका प्रतिनिधिसँगको संवादमा उनले भने, ‘पुरानो संसद भवन जेन-जी आन्दोलनमा ध्वस्त भएको अवस्था छ। फागुन २१ को चुनावपछि आउने प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै चलाउनुपर्नेछ। त्यसैले यो भवन छिटोभन्दा छिटो सम्पन्न गर्न सकेनौं भने त्यसको असर धेरै पर्छ।’

तोकिएको समयमा काम सकिन्छ कि सकिँदैन भन्ने मन्त्री घिसिङको प्रश्नमा निर्माण कम्पनीका प्रतिनिधिले ८७ प्रतिशत भौतिक प्रगति भएको र बाँकी १३ प्रतिशत काम पुस १६ भित्र सक्ने गरी प्रयास भइरहेको जानकारी दिएका थिए। तर, मन्त्री घिसिङले प्रयास मात्र नभई निश्चित रूपमा काम सम्पन्न गर्न निर्देशन दिए।

‘आजकै गतिले काम गरेर तोकिएको समयमा काम सम्पन्न गर्न गाह्रो देखिन्छ,’ उनले भने, ‘अब हरेक दिनको कार्यतालिका बनाएर काम गर्नुपर्छ। खेर गएको समयलाई पूर्ति गर्न ‘क्र्यास’ मा काम गर्नुपर्‍यो।’ उनले सिभिल र इन्टेरियर दुवै ठेकेदार कम्पनीलाई समन्वय गरेर कामको गति बढाउन निर्देशन दिए।

जेन-जी आन्दोलनका क्रममा पुरानो संसद भवन जलेर ध्वस्त भएपछि सिंहदरबारभित्र नयाँ भवन निर्माण तीव्र गतिमा अघि बढाइएको हो।

१५६.७ रोपनी क्षेत्रफलमा फैलिएको यो विशाल भवनमा ३५८ सिट क्षमताको मुख्य सभाहल रहनेछ। यहाँ राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक बस्न सक्नेछ।

यसबाहेक, भवनमा संसदीय दलका कार्यालयहरू, समिति हलहरू, पत्रकार र दर्शकका लागि छुट्टै ग्यालरी, तथा अन्य आधुनिक सुविधाहरू रहनेछन्।

निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसकेपछि सरकारले छिटो काम सक्न दबाब दिँदै आएको छ।

प्रकाशित: ८ कार्तिक २०८२ १८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App