काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र शाह (बालेन) को नेतृत्व र योगदानलाई महानगर प्रहरीले सयौं वर्षसम्म नबिर्सने बताएका छन्।
महानगर प्रहरी बलमा हालै बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख पाण्डेले मेयर शाहको कार्यकाल महानगर प्रहरीको इतिहासमा कोसेढुङ्गा सावित भएको बताए।
प्रमुख पाण्डेले २०७९ सालमा नयाँ नेतृत्व आएपछि मात्र महानगर प्रहरीको महत्त्व र परिचालन सही ढङ्गले हुन थालेको दाबी गरे।
उनले भने, ‘२०७९ सालभन्दा अगाडि महानगर प्रहरी अस्तव्यस्त थियो। जब मेयरसाब आउनुभयो, यसलाई सुव्यवस्थित गर्न महानगर प्रहरी ऐन ल्यायौं। यसले पदपूर्ति प्रक्रियालाई खुला र पारदर्शी बनायो। जुन ३० वर्षको अवधिमा एउटा ऐतिहासिक फड्को हो।’
उनले ५०० को सङ्ख्यामा रहेको र कमजोर अवस्थामा रहेको बललाई अहिले ३२०० को हाराहारीमा पुर्याएर सशक्त बनाइएको उल्लेख गरे।
मेयर शाहको कार्यशैलीको खुलेर प्रशंसा गर्दै पाण्डेले भने, ‘अहिलेको नेतृत्वलाई हामीले छातीमा राखेका छौं। महानगर प्रहरीले सयौँ वर्षसम्म पनि यो नेतृत्वलाई याद गरिरहनेछ, कहिल्यै बिर्सने छैन।’
उनले मेयर शाहले संस्थाको वृत्ति विकास र सुदृढीकरणमा पुर्याएको योगदान अतुलनीय रहेको जिकिर गरे।
मेयर बालेन राष्ट्रिय राजनीतिमा जाने चर्चाबारे सोधिएको प्रश्नमा प्रमुख पाण्डेले त्यो क्षण महानगर प्रहरीका लागि नरमाइलो हुने प्रतिक्रिया दिए।
‘उहाँको अभाव हामीलाई ठुलो खड्किनेछ। उहाँ हाम्रो अभिभावक र संरक्षक हुनुहुन्छ,’ पाण्डेले भने, ‘हामीले उहाँलाई ठुलो मिस गर्नेछौँ।’
पाण्डेले मेयर शाहको कार्यकालमा काम गर्दा कहिल्यै कुनै अनुचित दबाब वा ‘सोर्सफोर्स’ को सामना गर्नु नपरेको अनुभव सुनाए।
‘यो तीन वर्षको अवधिमा उहाँबाट कहिल्यै कुनै काममा रोकटोक भएन, न त कुनै अनुचित सिफारिस नै आयो,’ उनले भने, ‘हामीले पूर्ण रूपमा स्वतन्त्र भएर कानुन सम्मत काम गर्न पायौँ।’
उनले रोल्पाका एक विद्यार्थीको कन्सल्टेन्सीले ठगेको पैसा महानगर प्रहरीले तत्काल फिर्ता गराएको उदाहरण दिँदै अहिले सर्वसाधारणमा ‘महानगर प्रहरीले सुन्छ’ भन्ने विश्वास बढेको बताए।
प्रकाशित: १७ पुस २०८२ १८:१० बिहीबार





