काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर प्रहरीको कामको प्रशंसा गर्दै उनीहरूको काम कारबाही हेर्दा कहिलेकाहीँ हलिउड फिल्म हेरे जस्तो लाग्ने बताएका छन्।
नगर प्रहरी बलको ३३औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन कार्यान्वयनमा कडा तर व्यवहारमा संवेदनशील बन्न निर्देशन दिए।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले सानोमा हलिउड फिल्ममा देखिने ‘न्युयोर्क सिटी पुलिस’ को जस्तै काम कारबाही काठमाडौं नगर प्रहरीले गरिरहेको बताए। ‘यो देख्दा खुसी लाग्छ,’ उनले भने।
उनले महानगरका धेरैजसो सफल र महत्त्वपूर्ण (फ्ल्यागसिप) कार्यक्रमहरूमा नगर प्रहरीको भूमिका अतुलनीय रहेको र उनीहरूकै कारण काठमाडौंले राजधानीको पहिचान बनाएको सुनाए।
आगामी दिनका लागि शुभकामना दिँदै उनले नगर प्रहरीलाई तीनवटा कुरामा ध्यान दिन आग्रह गरे। ‘तपाईंहरूको काम कारबाही र नियम कानुन अझै कडा बन्दै जाओस्, तपाईंहरूको व्यवहार अझै संवेदनशील बन्दै जाओस् र बोलीचाली अझै नरम हुँदै जाओस्,’ प्रमुख शाहले भने।
उनले सार्वजनिक सम्पत्ति संरक्षण र अतिक्रमण हटाउने जस्ता कार्यमा नगर प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट प्राप्त सहयोगप्रति पनि आभार व्यक्त गरे।
प्रकाशित: १४ भाद्र २०८२ १५:३८ शनिबार

