२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

महानगरपालिकाले थाल्यो सुझाव संकलन

आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटबारे विराटनगर महानगरपालिकाले सुझाव संकलन सुरू गरेको छ । महानगरपालिकाले विराटनगरका गैरसरकारी संस्थाहरूसँग मंगलबार सुझाव संकलनका लागि छलफल  गरेको हो ।

छलफलमा विभिन्न क्षेत्रका गैरसरकारी संस्था, अधिकारकर्मी तथा सरोकारवालाहरूले आ–आफ्ना समुदायका आवश्यकता र चुनौतीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका छन् । गैरसरकारी संस्थाहरूको तर्फबाट गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले महानगरभित्र क्रियाशील संघसंस्थाहरू महानगरसँग सहकार्य गर्दै विकास र सामाजिक रूपान्तरणका काममा सक्रिय रहेको उल्लेख गरिन् । उनले  गैरसरकारी संस्थाहरूका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अनुरोध गरिन् ।

कार्यक्रममा नेपाल ग्रामीण विकास केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले ज्येष्ठ नागरिकको स्वास्थ्य, हेरचाह तथा सम्मानजनक जीवनयापन सुनिश्चित हुने नीति ल्याउन आग्रह गरे । अल आमना महिला संघकी प्रतिनिधि मदिरा खातुनले मुस्लिम महिलाहरूको सामाजिक तथा आर्थिक अवस्था अझै कमजोर रहेकाले उनीहरूको शिक्षा, सीप, स्वास्थ्य तथा सशक्तीकरणका मुद्दालाई आगामी नीतिमा प्राथमिकता दिनुपर्ने बताइन् । 

परिवर्तन समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सम्मानित जीवन, सामाजिक सुरक्षा र रोजगारीका अवसर सुनिश्चित गर्ने कार्यक्रम आवश्यक रहेको धारणा राखिन् । दलित महिला उत्थानका क्षेत्रमा कार्यरत संस्था फेडोकी अध्यक्ष शर्मिला परियारले विशेषगरी मधेसी दलित महिलालाई लक्षित गरी सीपमूलक तालिम, उद्यमशीलता विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । नेपाल अपाङ्ग महासंघका प्रतिनिधि सरोज नेपालीले महानगरभित्र निर्माण हुने सार्वजनिक तथा निजी संरचनालाई अपाङ्गतामैत्री बनाउन भवन निर्माण अनुमति प्रक्रियामै आवश्यक मापदण्ड लागू गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विराटनगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सामाजिक समावेशीकरणको क्षेत्रमा आफूले लामो अनुभव हासिल गरेको उल्लेख गर्दै सहभागी संस्थाहरूबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाए । कार्यक्रमको समापन गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले आगामी बजेट, नीति तथा कार्यक्रम सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेर अघि बढ्ने विश्वास दिलाउँदै प्राप्त सुझावहरूलाई प्राथमिकताका साथ अध्ययन गरी कार्यान्वयनतर्फ पहल गरिने बताइन् ।

प्रकाशित: २६ जेष्ठ २०८३ २०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App