दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई २ दिनकाे अस्पताल बसाइपछि पुन: अनसनमै फर्किएका छन्।
सात बुँदे माग राखेर तीन दिनको सत्याग्रहपछि साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका नगर प्रमुख भट्टराईलाई स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्यमा एकाएक समस्या देखिएपछि अनशनस्थल माइतीघरबाट उपचारका लागि वीर अस्पतालमा लगिएको उनलाई प्रेसर लाे, सुगर लो, रिँगटा लाग्ने जस्ता समस्या देखापरेकाे थियो।
उपचारमा संलग्न चिकित्सकले आमरण अनसनबाट उनकाे स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाले अझै समस्या देखापर्न सक्ने भन्दै डिस्चार्ज दिन नमानेपछि उनले हिजै आफ्नो स्वास्थ्यको जिम्मा आफैं लिने भनेर कागज गरेका थिए।
नगर प्रमुखले सत्याग्रह, आमरण अनसन हुँदै मागको सुनवाइ नभए देहत्याग गर्ने सङ्कल्प लिएका छन्। उनले उठाएका मागप्रति विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउँदै छन्।
सिंगो देशको प्रकृति, संस्कृति र भूँईमान्छेको हितका लागि आमरण अनसन बसेकाे बताउँदै माग सम्बोधन नभए देहत्याग गर्ने संकल्प लिएका छन्।
उनको सात बुँदे मागमा जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउनुपर्ने, बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून बनाउनुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त कर लिन पाउने कानून बनाउनुपर्ने लगायत रहेको छ।
प्रकाशित: १६ श्रावण २०८२ १४:१७ शुक्रबार





