बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने भएका छन्। उनीहरूले बुधबार दिउँसो मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर संयुक्त रूपमा राजीनामा पत्र बुझाउने तयारी गरेका छन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै तयार गरेको राजीनामा पत्रमा सरकारमा सहभागी सबै एमाले मन्त्रीहरूले बुधबारकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ।
राजीनामा पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२), नेकपा (एमाले) को निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारबाट बाहिरिने निर्णय गरिएको उल्लेख छ। साथै, उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाइदिन मुख्यमन्त्रीसँग आग्रह गरिएको छ।
एमालेका मन्त्रीहरूले बुधबार दिउँसो २ बजे मुख्यमन्त्री बानियाँलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाउने कार्यक्रम रहेको बताइएको छ। राजीनामासँगै एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ।
प्रकाशित: ६ श्रावण २०८३ ११:२० बुधबार

