कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस भएको छ।
न्याय, प्रशासन र विधायन समितिको सभापति कमला दर्नालले समितिको प्रतिवेदन सदनमा पेस गरेको हो।
विशेष समय र शून्य समयमा विविध विषयमा ध्यानाकर्षण
विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सन्दकपुरमा पर्यटक भित्र्याउन सरकारले आवश्यक संरचना बनाउनुपर्ने सुझाव दिए।
समुन्द्र सतहबाट तीन हजार ३३६ मिटर उचाइमा रहेको सन्दकपुरलाई नेपाल सरकारले पहिलो पर्यटन गन्तव्यमा राखेको भन्दै उनले त्यसको विकासका लागि ध्यान दिनुपर्ने बताए। ‘जैविक विविधता, रेडपान्डा, ३८ जातका लालीगुराँस पाउनुका साथै जडीबुटी सङ्कलन केन्द्र पनि हो सन्दकपुर। त्यसैले भारतको पश्चिम बङ्गाल दार्जिलिङ र नेपालको इलामबाट जान सकिने त्यहाँको बाटो अत्यन्त खराब रहेकाले त्यसको विकासमा ध्यान दिऔँ,’ सिटौलाले भने, ‘बाटो खराब भए पनि गएको वर्षमा भारत र बङ्गलादेशका तीन लाख ८० हजार नागरिक सन्दकपुरमा आएको तथ्याङ्क छ। त्यसको विकास भएमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ।’
उनका अनुसार इलामबाट ३५ किमी दूरीमा रहेको सन्दकपुरको बाटो हालसम्म पाँच किलोमिटर मात्र कालोपत्र भएको छ। सन्दकपुरबाट नेपालका सबै शिखर हिमाल, भूटानको कालो पहाड अवलोकनका साथै बिहानको समयमा सूर्य देखिने भएकाले यो ठाउँलाई अलौकिक भनिन्छ।
शून्य समयमा प्रदेशसभा सदस्य गोम्बु शेर्पाले तीजका अवसरमा शुभकामना व्यक्त गर्दै समानता, न्याय र समृद्धिका लागि महिला अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिए। सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा रासायनिक मलको सहज आपूर्तिका लागि ध्यानाकर्षण गराए।
सदस्य प्रेमराज थाम्सुङहाङले लिपुलेक र लिपियाधुरा नेपाली भूमि भएकाले नेपालको सहमतिबिना नै भारत र चीनले व्यापारिक मार्ग प्रयोग गर्न गरेको सम्झौतामा सरकारले विरोध गर्नुपर्ने बताए। उनले यस्तो कार्यले नेपालको सार्वभौसत्ता, भौगोलिक अखण्डतामा आँच आउनुका साथै स्वाधीनतामा पनि प्रहार भएको धारणा राखे। रासस
प्रकाशित: ६ भाद्र २०८२ १४:१८ शुक्रबार

