दस वर्षे सशस्त्र युद्धको बलमा नेपालको शासनसत्तामै हलचल ल्याएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल अहिले पार्टीभित्रै उपमहासचिव जनार्दन शर्माको प्रस्ताव र अभिव्यक्तिले हल्लिएका छन्। शर्माले सार्वजनिक रुपमै नेतृत्वको आलोचना गरेर पार्टीभित्र हलचल पैदा गरिदिएका छन्। उनले केही दिनयता अध्यक्ष दाहाल र संस्थापन पक्षको कार्यशैलीमाथि निरन्तर असन्तुष्टि पोख्दै आएका छन्।
टुटफुट र विभाजनले थला परेपछि अध्यक्ष दाहालले माओवादी धारको नेतृत्व संसदीय अभ्यासमार्फत गरिरहेका बखत शर्माले लामो समय एउटै व्यक्ति पार्टीको अध्यक्ष रहेकाले संगठन ‘जमेको तलाउ’ जस्तो भएको भन्दै नेतृत्वमाथि निरन्तर प्रश्न उठाइरहेका छन्। फुटेर गएकाहरूले अहिले दाहालसँग एकता, सहकार्य र मोर्चाको आवश्यकता औंल्याइरहेका बेला नयाँ पुस्ताले पार्टी हाँक्नुपर्ने मत माओवादीमा बलियो हुँदै गएको छ।
केही दिनअघि दाहालले उपमहासचिव शर्मातर्फ संकेत गर्दै प्रतिक्रियावादी र दलालहरूको उक्साहटमा लागेर विवाद सिर्जना गरेको बताएका थिए। यही साउन १० मा काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै दाहाललले माओवादी केन्द्रभित्र राजनीतिक वैचारिक संकट नभए पनि एकाध व्यक्तिले उक्साहटमा लागेर विवाद सिर्जना गरेको बताएका थिए।
उनको यो भनाइ शर्माप्रति लक्षित थियो। ‘एकाध मान्छेका असन्तुष्टि, कुण्ठा या प्रतिक्रियावादी र दलालहरूका प्रोभोकेसन (उक्साहट) मा गएर विवाद निम्त्याउनु राम्रो होइन। हाम्रो पार्टीमा कुनै वैचारिक, राजनीतिक संकट छैन, नेतृत्वको संकट पनि छैन। हामीसँग आठौं महाधिवेशनलेसमाजवादी क्रान्तिसम्बन्धी गरेको सर्वसम्मत निर्णय छ, त्यसमा अहिलेसम्म कसैले विमति राखेको छैन,’ दाहालले भनेका थिए।
शर्माले पुष्पलालको सम्झनामा आयोजित एक कार्यक्रममा नेपालमा मनमोहन अधिकारीबाहेक वामपन्थी प्रधानमन्त्रीहरूले भ्रष्टाचार गरेको भन्दै तीन कार्यकाल प्रधानमन्त्री बनेका दाहालमाथि पनि भ्रष्टाचारीको ट्याग लगाइदिएका थिए।
उनले दाहालको नाम नलिईकन मनमोहन अधिकारीबाहेकका सबै कम्युनिस्ट प्रधानमन्त्री भनेपछि दाहाल पनि त्यसैमा परेका हुन्।
नेकपा माओवादी केन्द्रमा अध्यक्ष दाहालले ३६ वर्षसम्म पार्टी अध्यक्ष नछाडेको र युवालाई नेतृत्वमा आउन अघोषित रुपमा रोक लगाएको भन्दै तल्लो तहबाट विशेष महाधिवेशनको माग उठ्न थालेको छ। एक वर्षयता यो माग निरन्तर रुपमा उठेको भए पनि दाहालले विशेष महाधिवेशन बोलाउने आँट गरेका छैनन्। युवा पुस्ताको नेतृत्व गर्दै आएका उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका छन्।
उनले बुधबार पनि सामाजिक सञ्जालमार्फत पार्टी पंक्तिलाई आह्वान गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथि (नेतृत्व) बाटै लगातार भइरहेको बताउँदै यसबाट जनता र कार्यकर्तामा भ्रम उत्पन्न भएकाले विशेष महाधिवेशनको माग गरेको स्पष्ट पारेका छन्।
अध्यक्ष दाहाल (प्रचण्ड) सँग सार्वजनिक रूपमै मतभेद राख्दै आएका उपमहासचिव शर्माले बुधबारको पदाधिकारी बैठकमा पनि विशेष महाधिवेशनको माग गरेका थिए। उनले त्यसक्रममा चारबुँदे प्रस्ताव पनि राखेका छन्।
आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व गर्नेगरी उनी अगाडि बढेका छन्। ‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्छु,’ शर्माले चारबुँदे प्रस्ताव पेस गर्दै पार्टीबारे उठेको भ्रम र तथ्यलाई गहिरो गरी बुझ्न आग्रह गरेका छन्। ‘गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपश्चात् बसेको केन्द्रीय समितिले आषाढदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विषेश महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा अजेन्डाकेन्द्रित बहस गरौं, जसले पार्टीलाई पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।
पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियानबाट आर्जेको ऊर्जालाई दुई बुँदे सहमतिपश्चात गिरेको पार्टीको साखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डाकेन्द्रित बहसमा केन्द्रित हौं। यतिबेला सिंगै देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन्। यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो’, उनले भनेका छन्।
शर्माले अर्थतन्त्रको पुनर्संरचनाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै उत्पादन, वितरण तथा समावेशी विकासको नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्ने जनाएका छन्। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउने पनि उनको भनाइ छ। ‘आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्छ,’ उनले भनेका छन्।
देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा भएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरूप्रति बेवास्ताले जनतामा उत्पन्न निराशालाई चिर्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन्। ‘संविधान संशोधनले शासकीय स्वरुप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि अजेन्डाहरूबाट राष्ट्रलाई एकताबद्ध गर्नेछ।
त्यस्तै उनले विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योल, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न सहयोग पु¥याउने उनको धारणा छ।
गत वर्ष केन्द्रीय समितिको बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भ शर्माले उठाएपछि पार्टी पादधिकारी बैठकसमेत प्रभावित भएको थियो। केही पदाधिकारीले शर्माको प्रस्तावलाई समर्थन गरेका थिए। माओवादीबाट अलग भएर गएका शक्तिले फेरि दाहालसँग एकता र सहकार्यको विषयमा बहस चलाउँदै गर्दा माओवादी केन्द्रभित्रको आन्तरिक राजनीति भने खलबलिँदै गएको छ।
दाहालले एक वर्षयता विभिन्न कार्यक्रममा दिएका अभिव्यक्तिका कारण शर्मा बिच्किएका मात्र छैनन्, असन्तुष्ट पक्षललाई समेटेर छुट्टै मोर्चा बनाउने अभियानमासमेत छन्। उनले विभिन्न प्रदेशमा आफू नजिकका नेताहरूसँगको भेटवार्तालाई तीव्र पारेका छन्। दाहालले साउन १० मा दिएको अभिव्यक्तिबाट शर्मा समूह निकै रुष्ट रहेको छ।
२०७८ पुस (११–१८) मा सम्पन्न माओवादी केन्द्रको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने निर्णय गरेको थियो। तर महाधिवेशन भएको चार वर्ष पूरा हुँदासमेत विशेष महाधिवेशन बोलाउन दाहालले आनाकानी गरिरहेका छन्।
महाधिवेशनमा २०७९ मा तीनै तहको निर्वाचन भएलगत्तै विशेष महाधिवेशन गरी समाजवादी विचार, कार्यक्रम ल्याउने सहमति थियो। महाधिवेशनले पारित गरेको समाजवादी कार्यदिशालाई कार्यान्वयन गर्न चुस्त, दुरुस्त संगठन बनाउने निर्णय गरेको थियो।
प्रकाशित: १५ श्रावण २०८२ ०८:४२ बिहीबार





