७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादीको समीक्षा: निर्वाचनको आम सहमति बन्दैछ, सरकारबाट मूर्त छलफल भएन

नेकपा माओवादी केन्द्रले दलहरू बिचमा निर्वाचनमा जाने आम सहमति बन्न लागेको समीक्षा गरेको छ। सोमबार पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा यस्तो समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

‘निर्वाचनमा जानका लागि मूलतः पार्टीहरूसित हामीले छलफल गरिरहेका छौँ। छलफल सकारात्मक छ,’ बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सापकोटाले भने, ‘अहिले त करिब करिब चुनावमा जाने सहमति छ। पार्टीका बैठकहरू बसिरहेका छन्, कांग्रेसको पनि एमालेको पनि बैठक बस्दै छ। चुनावमा जाने कुरामा आम सहमति जस्तै बन्दैछ।’ 

संविधान र व्यवस्था जोगाउन निर्वाचनको विकल्प नभएको पनि सापकोटाले बताए। उनले भने, ‘चुनाव गरेर मात्रै अहिलेको संविधानलाई निरन्तरता दिने, व्यवस्थालाई जोगाउने, सबै कुराको पहलकदमी लिने कुरा चुनावले मात्रै गर्न सक्छ।’ त्यस कारण चुनाव गर्ने कुरालाई माओवादी केन्द्रले शीर्ष प्राथमिकतामा राखेको उनले बताए। 

दलहरू निर्वाचनमा आम सहमति बनाइरहँदा सरकारकाबाट भने मूर्त छलफल नभएको प्रवक्ता सापकोटाले टिप्पणी गरे। ‘अहिले बाढी पहिरोले गर्दा खेरी होला, सरकारका तर्फबाट ठोस, मूर्त र अलिकति प्रभावकारी ढङ्गबाट छलफल भएको छैन,’ सापकोटाले भने। 

प्रकाशित: २० आश्विन २०८२ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App