ताप्लेजुङमा साविक स्थानबाट मतदाता नामावली सार्न आवेदन दिएकामध्ये ९० प्रतिशत भन्दाबढीले जिल्लान्तरको माग गरेको देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार मतदाता नामावली सार्ने प्रयोजनका लागि ६ सय ५२ जनाको आवेदन परेको छ । दुलालले आवेदन दिएकाहरुको विवरण केलाउने क्रम जारी रहेको र अहिलेसम्म १ सय जनाको आवेदन केलाउँदा ९६ जनाले मतदाता नामावली अन्य जिल्लामा सार्न आवेदन दिएको अवस्था सुनाए ।
सबै विवरण हेरिसकेपछि यकिन तथ्याङ्क भन्न सकिने बताउँदै दुलालले साविक स्थानबाट मतदाता नामावली सार्नका लागि आवेदन दिने मध्ये ९० प्रतिशत बढीले ताप्लेजुङबाट अन्य जिल्लामा नामावली सरुवाको माग गरेको स्थिति सुनाए ।
मतदाता नामावली जिल्लान्तर सरुवाका लागि आवेदन दिएकामध्ये ठूलो हिस्सा झापा र मोरङ, त्यसपछि काठमाडौं उपत्यका र केही संखुवासभासहितका जिल्लामा सार्न माग गरिएको दुलालको भनाइ छ ।
राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावलीमा नाम दर्ता गर्न आवेदन दिएकामध्ये धेरैको आवेदन दोहोरो तेहेरोसम्म पर्न गएको अवस्था रहेको बताउँदै दुलालले कार्यालयले विवरण रुजु गर्ने कामलाई तीव्रता दिएको बताए । असोज १० देखि मंसिर ५ गतेसम्ममा १ हजार ८ सय ५६ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका थिए ।
मतदानस्थल थपिने
फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ताप्लेजुङमा ५ मतदान स्थल थप गर्न गरिएको सिफारिस निर्वाचन आयोगले सदर गर्नेमा जिल्ला निर्वाचन कार्यालय विश्वस्त देखिएको छ ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले सिफारिस प्रकृया पूर्ण भएको र अहिलेसम्म आयोगबाट थप आवश्यक कागजात माग नभएकोले मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन जिल्ला स्तरीय समितिको बैठकले ५ मतदानस्थल थप तथा दुई मतदान स्थललाई साविक भन्दा केही वरपर सार्नेगरी गरेको सिफारिसलाई निर्वाचन आयोगले सदर गर्नेमा आसा बढेको बताए ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दुलालले मतदानस्थल सहितको विवरणमा आवश्यक सबै प्रकृया पूरा भएकोले आयोगले यसपटक ताप्लेजुङमा मतदानस्थल थप सम्वन्धीको निर्णय गर्न सक्ने सम्भावना रहेको जानकारी दिए ।
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन जिल्ला स्तरीय समितिले मैवाखोला गाउँपालिकाको वडा नं ६ फाकुम्बाको असाङलुङ आधारभूत विद्यालय साम्तुङमा १ सय ३१ मतदाता रहने गरी एक, फक्ताङलुङ गाउँपालिका वडा नं ६ स्थित महेन्द्र आधारभूत विद्यालय भाङवारीमा ५ सय ३० मतदाता रहने गरी एक र सोहि वडाको लुङथुङ आधारभूत विद्यालय स्कुलडाँडामा ३ सय ६२ मतदाता हुनेगरी एक मतदान स्थल थप गर्न सिफारिस गरिएको छ ।
फक्ताङलुङ गाउँपालिकाको वडा नं २ स्थित आर्दश मावि खेजेनिममा ५ सय १३ मतदाता हुनेगरी एक तथा मिक्वाखोला गाउँपालिका वडा नं ४ स्थित जनरात्री आधारभूत विद्यालय दलैंचामा १ सय ३० मतदाता हुनेगरी एक मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो । समितिले दुई मतदान स्थल साविक भन्दा केहि वरपर सार्नेगरी निर्णयार्थ आयोगमा सिफारिस गरेको छ ।
सिफारिस गरिएका मतदानस्थलहरुमा फुङलिङ नगरपालिका वडा नं २ स्थित याङलीजुङ आधारभूत विद्यालयमा रहेको मतदान स्थललाई २ नं वडा कार्यालयमा र फुङलिङ नगरपालिका वडा नं ५ स्थित सामुदायिक भवनमा रहेको मतदान स्थललाई ताप्लेजुङ उद्योग वाणिज्य संघको भवनमा सार्नेगरी आयोगमा सिफारिस गरिएको छ । सामुदायिक भवन अहिले पुर्ननिर्माणको क्रममा भत्काईएपछि बाणिज्य संघको भवनतर्फ केन्द्रित गरिएको हो ।
अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र कायम रहेका छन् । ताप्लेजुङबाट सिफारिस भएका ५ मतदानस्थल कायम गर्न आयोगले निर्णय गरेमा ताप्लेजुङमा मतदानस्थलको संख्या ८० र मतदान केन्द्र १ सय २८ पुग्ने छ ।
प्रकाशित: १० मंसिर २०८२ १५:५८ बुधबार





