राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र अस्वस्थ गुटबन्दीको प्रयास भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन्।
पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका क्रममा भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
उम्मेदवार झाले पार्टीका सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै गुटबन्दी गर्ने तत्वहरूलाई अनुशासनको दायरामा ल्याउन सार्वजनिक आग्रह गरे।
‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय सभापति रवि लामिछानेज्यूलाई अनुरोध गर्छु, यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गरिदिनुस् न,’ झाले भने।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोज्दा केही व्यक्तिहरूले समूहबन्दी गर्न खोजेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। रास्वपाले नयाँ राजनीतिक संस्कारको वकालत गरिरहेका बेला पुरानै दलहरूको जस्तो गुटगत अभ्यास हुनु दुःखद रहेको उनको तर्क छ। उनले पार्टीलाई विधि र पद्धतिमा चलाउन नेतृत्वले कडा कदम चाल्नुपर्नेमा जोड दिए।
महामन्त्री पदको महत्वबारे बोल्दै झाले यो पद केवल आलंकारिक नभई कार्यकारी भूमिका भएको बताए। ‘महामन्त्री पद एउटा एक्जुकेटिभ रोल हो। लोकतान्त्रिक प्रक्रियामा रहेका राजनीतिक दलहरूमा यो पद निकै महत्वपूर्ण हुन्छ,’ उनले थपे, ‘पार्टीको नेतृत्व र सार्वजनिक अनुहार सभापति भए पनि सांगठनिक संरचनालाई गतिशील बनाउने जिम्मेवारी महामन्त्रीकै हुन्छ।’
निर्वाचनको चुनावी मैदानमा रहेका झाले आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरे। महाधिवेशन प्रतिनिधिहरूबाट आफूले सकारात्मक प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै उनले भने, ‘अहिलेसम्म मतदाताहरूको रेस्पोन्स निकै राम्रो छ। मेरो एजेन्डा र पार्टीप्रतिको सक्रियतालाई प्रतिनिधिहरूले मूल्यांकन गर्नुभएको छ। त्यसैले निर्वाचन परिणाम मेरो पक्षमा आउनेमा म पूर्ण विश्वस्त छु।’
रास्वपाको महाधिवेशनमा महामन्त्री पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। रन्जु दर्शना लगायतका उम्मेदवारहरूले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि चुनावी समीकरण फेरिएको छ।
अहिले महामन्त्रीका लागि मनिष झासँगै विपिन आचार्य, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा छन्।
प्रकाशित: १२ असार २०८३ १५:१३ शुक्रबार





