१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मलेसियाको नयाँ मापदण्डले व्यवसायी मर्कामा पर्ने, प्रधानमन्त्रीद्वारा अध्ययन गर्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डले नेपाली व्यवसायी र कामदारमा पर्न सक्ने असरबारे तत्काल अध्ययन गरी आवश्यक पहलकदमी लिन निर्देशन दिएकी छन्।

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर यसबारे चासो व्यक्त गरेकी हुन्।

भेटमा सचिव पुष्करले मलेसियाको नयाँ मापदण्डबारे मन्त्रालयलाई जानकारी प्राप्त भएको र यसलाई कूटनीतिक माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएपछि प्रधानमन्त्रीले परराष्ट्र र अर्थ मन्त्रालयसँग पनि समन्वय गरेर अघि बढ्न निर्देशन दिइन्।

मलेसिया नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य मुलुक हो। नेपालका करिब १,२०० वैदेशिक रोजगार व्यवसायीमध्ये झन्डै ९०० व्यवसायी मलेसियामा कामदार पठाउने प्रक्रियामा आश्रित छन्।

व्यवसायीहरूका अनुसार मलेसियाले लागू गरेको नयाँ मापदण्डअनुसार नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्रै कामदार पठाउन योग्य हुनेछन्।

यो व्यवस्थाले सयौँ साना तथा मझौला व्यवसायी विस्थापित हुने र वैदेशिक रोजगारीको प्रक्रियामा समेत असर पर्ने उनीहरुको चिन्ता छ।

प्रधानमन्त्रीको निर्देशनपछि श्रम मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी कूटनीतिक पहल अगाडि बढाउने तयारी गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १६:५२ बिहीबार