१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बहुमत सरकारको शक्ति होला, तर शासकीय कौशल सरकारको परीक्षा हो, हेक्का राख्नु : आङदेम्बे

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीष्मराज आङदेम्बेले बहुमतको सरकार भन्दै धाक नदेखाउन सरकारलाई आग्रह गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले संसदमा रहेको बहुमत सरकारको शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशल नै सरकारको परीक्षा भएको बताए। 

‘बहुमत सरकारको शक्ति त होला। तर शासकीय कौशल भनेको सरकारको परीक्षा हो। यसलाई हेक्कामा राख्नुहोस्। संसदमा प्राप्त संख्याले पाँच वर्ष शासन टिकाउन सकिन्छ, तर शासनको अक्षमताले मुलुकलाई पाँच वर्ष पछाडि धकेलिदिन सक्छ,’ उनले भने। 

उनले सरकारसँग संख्या र शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने क्षमता छ कि छैन भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए। उक्त प्रश्नको उत्तरले सरकारको मात्र नभई वर्तमान पुस्ताको राजनीतिक भविष्यसमेत निर्धारण गर्ने उनको भनाइ थियो। 

‘आजको प्रश्न तपाईँहरूसँग संख्या छ, शक्ति छ। तर के शक्तिलाई परिणाममा बदल्ने तपाईँहरूसँग त्यो कौशलता छ ?’ आङदेम्बेले सरकार र सरकार सञ्चालन गरिरहेको दलका नेताहरूप्रति प्रश्न गरे। 

आङदेम्बेले लोकप्रियतावादभन्दा संसद, एकाधिकार र अधिनायकवादभन्दा सहकार्य तथा सामाजिक सञ्जालबाट गरिने घोषणाभन्दा वास्तविक कार्यान्वयन आवश्यक रहेको बताए। 

‘लोकप्रियतावाद होइन, संसद चाहिएको छ। एकाधिकार र अधिनायकवाद होइन, सहकार्य चाहिएको छ। सामाजिक सञ्जालबाट घोषणा होइन, वास्तविक कार्यान्वयन चाहिएको छ,’ उनले भने। 

उनले सरकारसँग गणितीय संख्या मात्र नभई प्रभावकारी नतिजा दिन सक्ने क्षमता आवश्यक रहेको बताए। शासनसँगै सामाजिक न्याय र समुन्नति पनि आवश्यक रहेको उनको भनाइ थियो। 

निराशामा रहेका जनतालाई सरकार छ भन्ने भरोसा दिलाउनु सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै उनले सरकारले जनतामा आशा जगाउने काम कति गर्न सक्यो भन्ने प्रश्नसमेत उठाए। 

प्रतिपक्षले विरोध गरेपछि मात्र नभई सरकारले आफैँ आफ्नो कामको समीक्षा गर्नुपर्नेमा जोड दिँदै आङदेम्बेले प्राप्त नतिजासहित आगामी अधिवेशनमा संसदमा उपस्थित हुन सरकारलाई आग्रह गरे। 

‘प्रतिपक्षले विरोध गरेपछि मात्र होइन, सर्वप्रथम सरकारले आफैँ आफ्नो समीक्षा गरोस् र प्राप्त नतिजा लिएर अर्को अधिवेशनमा संसदमा उपस्थित रहोस्,’ उनले भने।  

प्रकाशित: १५ आश्विन २०८३ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App