नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौंको माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिएको बताएका छन्।
माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठक र बस्नेतकी श्रीमतीबिच भएको हातपातपछि श्रीमतीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको खबर बाहिरिएपछि उनले यस्तो बताएका हुन्।
'मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमतीसहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन्,' उनले सामाजिक सञ्जालमार्फत भने, 'उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।'
बस्नेतले यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेको आरोप समेत लगाएका छन्। जुन अत्यन्तै दुखद र आपत्तिजनक रहेको उनको भनाइ छ। 'यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेका छन्, जुन अत्यन्तै दुःखद र आपत्तिजनक छ,' उनले भने।
उनले यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त नहुने बताए। पीडित आफैँले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत नभएको उनको भनाइ छ।
'यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन,' उनले भने, 'पीडित आफैँले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन।'
सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिइ निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक उनले औंल्याए। अन्यथा, सशक्त प्रतिरोध गरिने चेतावनी उनले दिए। 'सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ। अन्यथा, सशक्त प्रतिरोध गरिनेछ,' उनले भने।
प्रकाशित: १४ वैशाख २०८३ १५:५० सोमबार





