प्रधानमन्त्री बालेन शाहले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्बिर सेयर गरेका थिए।
सो तस्बिरमा उनले क्याप्सन लेखका थिए- देश बनाउने टोली।
कालो पहिरनमा सजिएका प्रधानमन्त्रीले दुई मन्त्रीलाई बीचमा राखेर अँगालो हालेको उक्त पोस्टले राम्रै चर्चा पाइरहेका बेला नेकपा एमालेका सचिव महेश बस्नेतले भने तस्बिर प्रति व्यङ्ग्य गरेका छन्।
सोमबार सामाजिक संजालमार्फत् उनले सरकारको काम गर्ने शैली र वर्तमान आर्थिक संकटलाई जोड्दै प्रधानमन्त्रीको उक्त दाबीमाथि प्रश्न उठाएका हुन्।
एमाले सचिव बस्नेतले मुलुकको चिया उद्योगमा देखिएको गम्भीर समस्यातर्फ ध्यानाकर्षण गराउँदै सरकार गम्भीर नभएको दाबी गरे। भारतले नेपाली तयारी चियामा लागू गरेको नयाँ मापदण्डका कारण ५३ वटा उद्योग बन्द भएको प्रसंग उल्लेख गरे।
१२ लाख किलो चिया निर्यात रोकिँदा एकातिर उद्योगी मारमा परेका छन् भने अर्कोतिर किसानको बिचल्ली भएको उनले बताएका छन्।
देशको अर्थतन्त्र चरम दबाबमा रहेको, उद्योगधन्दाहरू धमाधम बन्द भइरहेको र निर्माण व्यवसाय ठप्प रहेको अवस्थामा स्टन्टले मात्रै देश नबन्ने बस्नेतको तर्क छ।
उनले उत्पादन, रोजगारी र आर्थिक गतिविधि बढाएर मात्रै देश बनाउने कुरा प्रमाणित हुने चेतावनी दिएका छन्।
उनले लेखेका छन्-आजदेखि भारतले नेपाली तयारी चियामा लागू गरेको नयाँ मापदण्डका कारण ५३ वटा उद्योग बन्द भएका छन्। १२ लाख किलो चिया निर्यात रोकिँदा उद्योगी र किसान दुवै सङ्कटमा परेका छन्। अर्थतन्त्र दबाबमा छ, उद्योगधन्दा बन्द भइरहेका छन्, निर्माण व्यवसाय सुस्त छ। यस्तो बेला देश बनाउने कुरा नाराले होइन, उत्पादन, रोजगारी र आर्थिक गतिविधि बढाएर प्रमाणित गर्नुपर्छ। लोकप्रियतावादी हल्ला र स्टन्टले देश बन्दैन, झन् सङ्कटतर्फ धकेल्छ।’
साथै, प्रधानमन्त्रीले सेयर गरेको तस्बिरलाई व्यङ्ग्य गर्दै बस्नेतले एउटा एआई तस्बिर समेत सार्वजनिक गरेका छन्।
उक्त तस्बिरमा उनले सुधार गृहमा राख्नु पर्ने खरानी ग्याङ भनी टिप्पणी गरेका छन्। तस्बिरमा लेखिएको छ- देशको सुधार गृहमा राख्नुपर्ने खरानी ग्याङ।
प्रकाशित: १ असार २०८३ १५:२८ सोमबार





