४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मधेश प्रदेश : विश्वासको मत लिन मुख्यमन्त्री नै नआएपछि बैठक स्थगित

आज बोलाइएको प्रदेशसभा बैठकमा सत्ता पक्षको उपस्थिति नभएपछि दुई बजेसम्मका लागि बैठक स्थगित भएको छ। उपसभामुख बबिता राउत इसरले बिहान साढे आठ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो सुरु भएको थियो। तर मुख्यमन्त्री सरोज कुमार यादव उपस्थित नभएपछि स्थगित गरेकी छन्।
  
मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सचिवालयमा पत्राचार गरेपछि आज बैठक बोलाइएको थियो। गत कार्तिक २४ गते बिहान बार्दिबासस्थित एक होटेलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।  

यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेससहित सात दलका ७४ सांसदले उनको नियुक्ति खारेजीको माग राखी सर्वोच्च अदालतमा रिट दिएका थिए।

ती रिटमा सर्वोच्चले फैसला सुनाउँदै सोमबार २४ घण्टाभित्र प्रदेश सभाबाट विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो। 

तर मुख्यमन्त्री यादवले आफूलाई मंगलबार दिउँसो तीन बजे उक्त परमादेशपत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको भन्दै दिउँसो ३ बजे विश्वासको मतका लागि व्यवस्था मिलाइदिन सचिवालयमा पत्र पठाएका थिए।

प्रकाशित: १७ मंसिर २०८२ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App