मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पछिल्ला घटनाक्रमका कारण प्रदेशका विभिन्न क्षेत्रमा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव, संयमता र शान्तिको पक्षमा उभिन हार्दिक अपिल गरेका छन्।
जारी सार्वजनिक अपिलमा प्रदेश प्रमुख कर्णले मधेस केवल भौगोलिक क्षेत्र नभई विविध आस्था, संस्कृति र परम्पराले जोडिएको साझा सभ्यता भएको उल्लेख गरेका छन्। उनले पुस्तौँदेखि दुःख–सुखमा एकअर्काको साथ दिँदै आएको सामाजिक एकतालाई क्षणिक आवेग, भ्रम र असमझदारीका कारण कमजोर पार्न नहुने बताएका छन्।
उनले पछिल्ला घटनाले नागरिकमा चिन्ता र पीडा थपिएको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा अफवाहको पछि नलाग्न, अपुष्ट सूचना नफैलाउन, संयमता अपनाउन र विवेकपूर्ण व्यवहार गर्न सबैसँग आग्रह गरेका छन्।
प्रदेश प्रमुख कर्णले अशान्तिको वातावरणमा धैर्यता, संवाद र आपसी विश्वास नै सबैभन्दा प्रभावकारी उपाय हुने उल्लेख गर्दै कुनै पनि समस्या वार्ता, सहकार्य र समझदारीबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
अपिलमा उनले सबै समुदायलाई आपसी भाइचारा कायम राख्दै संवाद र सहकार्यको माध्यमबाट वर्तमान चुनौतीको सामना गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “हाम्रा आस्था र प्रार्थनाका तरिका फरक हुन सक्छन्, तर सुख, शान्ति र समृद्धिको चाहना सबैको साझा हो।”
प्रदेश प्रमुख कर्णले पुरानो विश्वास, आत्मीयता र छिमेकीपनलाई पुनर्जीवित गर्दै आफ्ना घर–आँगन, समाज र समग्र मधेस प्रदेशलाई शान्ति, सुरक्षा र सद्भावको उज्यालोले भरिपूर्ण बनाउन सबै नागरिकले सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

प्रकाशित: १४ श्रावण २०८३ १८:१३ बिहीबार


-1200x560-600x400.jpg)


