१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

माधवको प्रतिवेदनः संसद् विघटन जेन–जीको माग थिएन, घुसपैठियाले गराए

‘घुसपैठियाहरू लोकतन्त्र समाप्त पारेर असफल राष्ट्र बनाउन षडयन्त्र गर्दैछन्’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान खारेजी र संसद् विघटनको माग जेन–जी पुस्ताको नभएको दाबी गरेका छन्। बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा घुसपैठियाहरूले संसद् विघटन गराएको उल्लेख गरेका छन्।  

‘जेन–जी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन,’ अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ,‘उनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो। प्रतिनिधि सभाको विघटन गराउने काम घुसपैठियाहरूले गरे।’  

घुसपैठियाहरूले यही मौकामा लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गरिरहेको पनि अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ।  

‘यसमा जेन–जी पुस्तासमेत सचेत हुन जरुरी छ। लोकतन्त्र नै रहेन भने वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने छन्,’ प्रतिवेदनमा भनिएको छ।  

लोकतन्त्र नभएको राज्यमा भ्रष्टाचार र कुशासन विरुद्धका आन्दोलन गर्न नपाइने मात्र नभई बोल्नसमेत नपाइने अवस्था सिर्जना हुनेमा सचेत गराइएको छ।  

प्रकाशित: १२ कार्तिक २०८२ १४:३० बुधबार