नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवं रौतहट क्षेत्र नं-१ का उम्मेदवार माधव कुमार नेपालले गौर नगरपालिकामा देखिएको पछिल्लो सामुदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले गौर र आसपासका क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबिच देखिएको द्वन्द्वले जनजीवन अस्तव्यस्त बनेको भन्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्।
गौरको सबगढा लगायतका क्षेत्रमा उत्पन्न तनावले सर्वसाधारणमा त्रास फैलिएको उल्लेख गर्दै उनले भने, ‘हिन्दु होस् वा मुस्लिम, कुनै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन। यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन।’
नेता नेपालले दुवै समुदाय एउटै समाजमा मिलेर बस्नुपर्ने र एक-अर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्नु नै अहिलेको आवश्यकता भएकोमा जोड दिए।
कुनै पनि समस्याको समाधान आपसी छलफल र संवादबाट मात्र सम्भव हुने भन्दै उनले उत्तेजनामा नआउन सबै पक्षलाई आग्रह गरे।
स्थिति नियन्त्रण बाहिर जान नदिन नेता नेपालले सरकार र सुरक्षा निकायसँग सक्रिय संवाद गरिरहेको जानकारी दिएका छन्।
उनले गृहमन्त्रीसँग टेलिफोनमा कुरा गर्दै स्थिति सामान्य नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यु) लगाउन र आवश्यक परे सशस्त्र प्रहरी एवं नेपाली सेना समेत परिचालन गरी नागरिकको सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका सुनाए।
‘मैले गृहमन्त्रीजीसँग कुरा गरेको छु, कर्फ्यु लगाएर भए पनि स्थिति नियन्त्रणमा लिनुपर्छ,’ नेपालले भने, ‘यसका साथै जनकपुरका डिआइजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग पनि निरन्तर समन्वय भइरहेको छ।’
उनले कसैको पनि घरमा क्षति नपुगोस् र कसैको इज्जत-प्रतिष्ठामा आँच नआओस् भन्नेतर्फ सुरक्षा निकाय र स्थानीय प्रशासनलाई सचेत गराएका छन्।
घृणाको भावनाले समाजलाई अघि बढाउन नसकिने भन्दै उनले सबैलाई जिम्मेवार भएर शान्ति स्थापनामा लाग्न आह्वान गरे।
प्रकाशित: ९ फाल्गुन २०८२ १५:२८ शनिबार





