लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ।
बुधबार राति बसेको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८ औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।
सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका थिए । थारू समुदायका मौलिक परम्परा, संस्कृति तथा सामाजिक अभ्यासको संरक्षण र प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्ने उद्देश्यले विधेयक पारित गरिएको हो।
विधेयकले थारू समुदायमा परम्परागत रूपमा प्रचलित कविला गण संरचना, सङ्गठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सालगायतका मौलिक परम्पराको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि आवश्यक कानुनी व्यवस्था गरेको छ।
प्रदेश सरकारले यो विधेयकमार्फत थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान, सामाजिक संरचना र सांस्कृतिक अभ्यासको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ।
प्रकाशित: २५ असार २०८३ १३:२६ बिहीबार





