३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत लिने

क्याप्शन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको बैठक भदौ १ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन्।

बैठकको सुरुवातमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ।

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।

केन्द्रमा बनेको सत्ता समीकरणअनुसार लुम्बिनीमा पनि एमालेसहितका दलले आचार्य नेतृत्वको सरकारलाई समर्थन गर्ने तयारी गरेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा_ र जनता समाजवादी पार्टी -जसपा_ले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका छन्।

यी दलहरूको समर्थन कायम रहे मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था देखिएको छ।

प्रकाशित: ३१ श्रावण २०८३ १७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App