१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

रवि र बालेनप्रति लिङ्देनको कटाक्ष- जित्नु कहाँ छ कहाँ, प्रधानमन्त्री को हुने भनेर भागबन्डा चल्दैछ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा बाह्य हस्तक्षेप चरम सीमामा पुगेको दाबी गरेका छन्।

शनिबार झापामा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले कुन पार्टीले चुनाव जित्ने र कसले सरकार बनाउने भन्ने कुरा विदेशीहरूले तय गर्न थालेको आरोप लगाए।

लिङ्देनले वैकल्पिक र नयाँ शक्ति भनिएका दलहरूप्रति पनि तिखो टिप्पणी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहतर्फ सङ्केत गर्दै उनले चुनावको टुंगो नलाग्दै प्रधानमन्त्रीको पद बाँडफाँड गरेको भन्दै व्यङ्ग्य गरे।

अध्यक्ष लिङ्देनले भने, ‘अहिले नयाँ भन्ने साथीहरू, चुनाव हुनु कहाँ छ कहाँ छ, जित्नु कहाँ छ कहाँ छ, प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गर्दै गरेका छन्।’ उनले यस्तो योजना पनि विदेशीहरूकै डिजाइनमा भइरहेको दाबी गरे। ‘विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदै छन्,’ उनले थपे।

वर्तमान सत्ता समीकरणप्रति आक्रामक सुनिएका लिङ्देनले भने, ‘आज सरकार कसले बनाइदियो ? कसको सिफारिसमा मन्त्रीहरू बनिरहेका छन् ? राजेन्द्र लिङ्देनले भनिराख्नु पर्दैन, हरेक मान्छेलाई थाहा छ।’

उनले सत्ता केन्द्रित वैदेशिक नीतिका कारण नेपाल भू-राजनीतिक चक्रव्यूहमा फस्न लागेको र देशको अस्तित्व नै समाप्त हुने खतरा रहेको औंल्याए।

लिङ्देनले वर्तमान संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले देशलाई निकास दिन नसक्ने ठोकुवा गरे। उनले भने, ‘एकचोटी छातीमा हात राखेर सोच्नुस्, के यही गणतन्त्र र यही संविधानबाट देशलाई दुर्घटनामा जानबाट रोक्न सकिन्छ ?’

उनले यही व्यवस्था कायम रहे भविष्यमा ठूलो द्वन्द्व निम्तिन सक्ने चेतावनी दिँदै देश बचाउन राप्रपाको बाटो रोज्नुको विकल्प नरहेको जिकिर गरे।

उनले राप्रपा केवल चुनाव जित्न र मन्त्री बन्न मात्र नभई देशलाई जिताउन र अस्तित्व रक्षा गर्न अघि बढेको दाबी समेत गरे।

प्रकाशित: १२ पुस २०८२ १८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App