३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

निकिता भन्छिन्: श्रीमानलाई जेल बाहिरबाट मुद्दा लड्न देऊ, मेरो आग्रह यत्ति हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो श्रीमानलाई जमानतमा रिहा गरी थुना बाहिरबाटै मुद्दा लड्न दिन आग्रह गरेकी छन्।

जिल्ला अदालतको आदेशविरुद्ध सोमबार उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दिएपछि उनले सामाजिक सञ्जालमार्फत सो आग्रह सार्वजनिक गरेकी हुन्।

‘बिगो तोकिदेउ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो,’ पौडेलले आफ्नो स्टाटसमा लेखेकी छन्।

कारागारभित्र श्रीमानको जीवन सुरक्षित नभएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्। ‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन,’ उनले लेखेकी छन्, ‘भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन।’

उनले सत्ता र शक्तिको चरम दुरुपयोग गरेर लामिछानेलाई झुटा मुद्दामा फसाइएको र जेलमा थुनिएको बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसदबाटै धम्क्याइरहेको आरोप लगाएकी छन्।

न्यायको खोजीमा आफू संविधान र कानुनले दिएका सबै ढोका ढकढक्याउन तयार रहेको उनले बताएकी छन्। ‘न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु,’ उनको भनाइ छ।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सोही फैसलाविरुद्ध पौडेलले आज उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दर्ता गराएकी हुन्।

प्रकाशित: ९ भाद्र २०८२ १६:५४ सोमबार