नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब एक जुट भएर अघि बढ्नुपर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नसकेपछि उपाध्यक्ष रामबहादुर थापा बादलमार्फत सन्देश पठाएका उनले अब कम्युनिष्ट आन्दोलनलाई उचाईंमा पुर्याउन एकता आवश्यक भएको बताएका छन् ।
पार्टीको लागि फागुन २१ को निर्वाचन अस्वाभाविक रूपमा प्रतिकुल रहन गएको ओलीको सन्देशमा उल्लेख छ ।
ओलीले भनेका छन्, ‘देशभक्त शक्तिहरूको लागि हाम्रो इतिहासका कतिपय कालखण्ड यस्तै प्रतिकुलता थिए, एमालेले त्यसलाई झेलेर यहाँसम्म आएको हो। आज हामीले व्यहोर्नुपरेको असफलताका विषयमा समग्र पार्टीभित्र गम्भीर समीक्षा गर्दै फेरि यस आन्दोलनलाई सफलताको उचाइमा पुर्याउनुपर्ने छ। यसका लागि हामी सबै एकताबद्ध हुन जरुरी छ।’
पार्टीको जीवनमा पटक पटक चुनौती आएको बताएका छन्। उनले जबजलाई आफ्नो सिद्धान्त बनाएर देशलाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्य राखेको बताए।
उनले भनेका छन्, ‘पार्टीले आफ्नो उद्देश्यको झन्डालाई झुक्न दिएन, आफ्नो गन्तव्य बदलेन र समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने सङ्कल्प कहिल्यै छोडेन। आजको समयका चुनौतीलाई हामीले पार्टीलाई एकताबद्ध बनाएर सामना गर्नुपर्ने छ। त्यसका लागि हामी सबैले प्रण गरौँ।’
प्रकाशित: ९ वैशाख २०८३ १७:५० बुधबार





