९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन‍्।

राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनीतिक दल र आमनागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गरेका हुन्।

उनले शान्तिसुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गरे।

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताइन्। उनले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।

सुरक्षा निकाय प्रमुखहरूले शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेकाबारे आश्वस्त पारेका थिए। उनीहरूले विगतमा योभन्दा कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताएका थिए।

छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो।

प्रकाशित: १ कार्तिक २०८२ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App