१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

यो संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशको अत्यन्त संवेदनशील परिस्थितिमा सबै नागरिकलाई संयमित रहँदै सरकारलाई साथ दिन अपिल गरेका छन्। 

शाहीले धार्मिक र्‍यालीमाथि गोली चलाउने, हिंसा भड्काउने तथा दङ्गा फैलाउने व्यक्ति वा समूहलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। 

उनले भनेका छन्, ‘यो अत्यन्त संवेदनशील अवस्थामा हामी सबैले संयमित हुँदै सरकारलाई साथ दिनुपर्छ। हामी सरकारको साथमा छौँ। धार्मिक र्‍यालीमाथि गोली चलाउने, हिंसा भड्काउने तथा दङ्गा फैलाउने जो–कोहीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई अपिल गर्दछु।’  

शाहीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्नेमा जोड दिएका छन्। दङ्गाका क्रममा जसको भौतिक सम्पत्ति नष्ट भए पनि वा जसको ज्यान गए पनि त्यो सम्पूर्ण नेपालीकै क्षति भएको उनको भनाइ छ। 

‘दङ्गामा जसको भौतिक सम्पत्ति नष्ट भए पनि, जसको ज्यान गए पनि—त्यो नेपालीकै क्षति हो। ज्यान गुमाउनेहरू हाम्रै नेपाली दाजुभाइ हुन्,’ उनले भनेका छन्। 

राप्रपा संसदीय दलका नेता शाहीले सबै पक्षलाई शान्त, जिम्मेवार र संयमित रहन आग्रह गर्दै हिंसाको सट्टा संवाद र कानुनी प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। 

उनले भनेका छन्, ‘सबै पक्षलाई शान्त, जिम्मेवार र संयमित भइदिन हार्दिक अपिल तथा अनुरोध गर्दछु। हिंसा होइन, संवाद र कानुनबाट समाधान खोजौँ।’ 

प्रकाशित: १२ श्रावण २०८३ १७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App