नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको वर्तमान अवस्थाबारे यथार्थपरक समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी स्थापनाको ७७औँ दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले पार्टी पुनर्गठनको प्रस्ताव गरेका हुन्।
उनले लेखेका छन्, ‘पार्टी स्थापनाको नेतृत्व गर्ने कमरेडहरू पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोती देवीप्रति श्रद्धा र सम्मान गर्ने दिन। जनताको बहुदलीय जनवाद जस्तो युग सुहाउँदो, गतिशील र लोकतान्त्रिक सिद्धान्त प्रतिपादन गर्ने जननेता मदन भण्डारीबाट प्रेरणा लिने दिन। कम्युनिस्ट आन्दोलनका सम्पूर्ण सहिदहरू र मनमोहन अधिकारी लगायत सम्पूर्ण अग्रजहरूलाई आदरपूर्वक स्मरण गर्ने दिन। नेपाली कम्युनिस्ट आन्दोलनका उपलब्धि र कमजोरीहरूको समीक्षा गर्न, तीनबाट शिक्षा लिन र अगाडि बढ्न संकल्प गर्ने दिन।’
पछिल्लो समय पार्टीले बेहोरेको पराजयलाई उनले ‘इतिहासकै ठुलो असफलता’ का रूपमा चित्रण गरेका छन्। फागुनको निर्वाचनमा मतदाताले अस्वीकार गरेको स्वीकार गर्दै उनले लेखेका छन्, ‘पार्टी स्थापना देखि आजसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको छ र कहालीलाग्दो क्षति पनि बेहोरेको छ। संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान घोषणा भएपश्चातको दशक कम्युनिस्ट पार्टीले झण्डै दुई तिहाइको सरकार गठन गर्न सफल भएको दशक र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास कै सबैभन्दा ठुलो असफलता र पराजयको दशक बन्न पुगेको छ।’
उनले अगाडि लेखेका छन्, ‘सरकारको नेतृत्व गरेको हाम्रो पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसँग सडकमा पछारिएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेका छन्। हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौँ।’
पौडेलले पार्टीको यो अवस्था आउनुमा आफ्नै गल्ती र कमजोरी निर्णायक रहेको समेत स्पष्ट पारेका छन्। उनले थपेका छन्, ‘हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको निर्णायक भूमिका छ।’
उनले अब ढिला नगरी विगतको एक दशक र पछिल्लो निर्वाचनसम्मको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने खाँचो औँल्याएका छन्। नीति, नेतृत्व, संगठन र कार्यशैली सच्याउँदै पराजयको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
उनले लेखेका छन्, ‘अब हामीले अविलम्ब समग्र नेपाली कम्युनिस्ट आन्दोलनको, विशेष गरी विगतको एक दशकको र पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देखि आम निर्वाचन सम्पन्न हुँदा सम्मको वस्तुनिष्ठ र यथार्थपरक समीक्षा गर्न जरुरी छ। नीति, नेतृत्व, संगठन र कार्यशैलीमा रहेका हाम्रा गल्ती, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरुरी छ। हामीले सफलता र उपलब्धिको जस लिए जसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ।’
समयको मागअनुसार पार्टीलाई पुनर्गठन गरी एमालेलाई पुनः निर्णायक शक्तिमा बदल्न उनले सबैलाई संकल्प गर्न आह्वान गरेका छन्।
प्रकाशित: ९ वैशाख २०८३ १३:४७ बुधबार





