नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षा गर्न सबैखाले पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले देशको सार्वभौमिकता रक्षा गर्न सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान गरेका हुन्।
मजदुर, किसान र उत्पीडित वर्गलाई राजनीतिक र सामाजिक अधिकार दिने उद्देश्यले कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यले स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले चार वर्ष पूरा गरेको जनाउँदै अध्यक्ष नेपालले सम्पूर्ण पार्टी पङ्क्ति, समर्थक, शुभचिन्तक सबैलाई बधाई र शुभकामना व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्दै जनताको आधारभूत अधिकार र आवश्यकता सुनिश्चित गर्न जोड दिए। राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख ‘एजेण्डा’ बनाउँदै आएको एकीकृत समाजवादीले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित र अवसरबाट वञ्चित वर्गको हितमा दृढतापूर्वक अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे।
समाजवाद उन्मुख लोकतन्त्रलाई बलियो पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान र उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने सङ्कल्प गर्नुपर्ने बताउँदै उनले कम्युनिष्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गरी आन्दोलनलाई शुद्धीकरण र एकीकरण गर्नुपर्ने उल्लेख गरे। अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको आवश्यकता भएको बताए।
प्रकाशित: ९ भाद्र २०८२ १४:०८ सोमबार





